
काठमाडौँः सरकारले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट आज संघीय संसद्मा पेस गर्दैछ। संघीय संसदका दुबै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिक बजेट पेस गर्नेछन्। अपराह्न ४ बजे बजेट पेसका लागि संयुक्त बैठक बोलाइएको छ।
अर्थ मन्त्रालयले १५ खर्ब रुपैयाँको बजेट तयार गरेको छ। सामान्य अवस्थामा नेपालमा राजस्व वृद्धिदर वार्षिक २० प्रतिशत छ। अर्थमन्त्री खतिवडाले यसपटक राजस्वका दर हेरफेर गर्दैछन्।
३० प्रतिशत वृद्धिदर राखेर ९ खर्ब ५० अर्ब रुपैयाँ राजस्व असुली गर्ने योजना बजेटमा लिइएको छ।
स्रोतका अनुसार आउँदो वर्ष वैदेशिक ऋण र अनुदानबाट ३ खर्ब ५० अर्ब रुपैयाँ प्राप्त गर्ने सरकारको अनुमान छ। यस्तै आन्तरिक ऋण र चालु वर्षको खर्च नहुने बजेट बचत दुई खर्ब रुपैयाँ गरी १५ खर्ब रुपैयाँको बजेटको तयारी भएको हो।
आगमी आर्थिक वर्षका लागि स्रोत समितिले मन्त्रालयलाई १२ खर्ब ४ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको थियो।
स्रोतका अनुसार राजस्वका दरमा परिवर्तन हुँदैछ। चालु आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले राजस्व बढी उठाउने लक्ष्यका साथ बजेट तयार पारिएको छ। यो अनुपातमा राजस्व वृद्धिदरको लक्ष्य निर्धारण भएमा आउँदो वर्ष ९ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हुनेछ।
सरकारले बजेटमार्फत प्रगतिशील कर प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।