
काठमाडौँः द्वन्द्वकालीन मुद्दामा जेल चलान भएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद समय माफी पाई ढुङ्गेल मंगलबार रिहा भएका हुन्।
महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले ढुङ्गेल रिहा भइसकेको पुष्टि गरे।
०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ०६६ मा उनलाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। गत कात्तिकमा उनी पक्राउ परेका थिए।
ढुङ्गेललाई रिहा गर्ने समाचार प्रकाशन भएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी छ। यससम्बन्धमा अन्तरिम आदेशको माग गर्दै परेको रिटमा हिजो सुनुवाईको क्रममा बहस नसकिएकोले न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाई आज पेश गर्न आदेश दिएको थियो।
११औँ गणतन्त्र दिवसको अवसरमा ढुङ्गेलसहित अन्य ८१६ कैदीले पनि कैद माफी पाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। कैद माफी पाएकाहरु रिहा भएका छन्।
असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिए सरकारको सिफारिसमा आधारमा कैद माफी दिन सक्ने व्यवस्था संविधानमा रहेको छ । संविधानको धारा २७६ बमोजिम उनीहरुलाई माफी दिइएको हो।
माफी पाएकाहरुको नामवाली भने सार्वजनिक गरिएको छैन।