
काठमाडौँः विवेकशील साझा पार्टीले तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलको रिहाइ न्याय र विधिको शासन विपरीत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी प्रवक्ता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै ढुङ्गेलको मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारभन्दा बाहिर रहेको सर्वोच्चको फैसलाको स्मरण गराएको छ।
विज्ञप्तिमा भनिएको छ ‘सशस्त्र द्वन्द्वकालका घटनाहरू मूलतः सत्य निरूपण तथा मेलमिलाप आयोगबाट निरूपण गरिने भए पनि ढुङ्गेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यस अघि नै स्पष्ट भैसकेको छ। गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो।’
पार्टीले द्वन्द्वकालीन मुद्दाहरू समयमा नै सम्बोधन गरी पीडितहरूलाई उचित न्याय दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ।