काठमाडौं : २०७२ कार्तिकमा म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका थिए पूर्व फुटबल खेलाडी अन्जन केसी। महानगरीय अपराध महाशाखाले केसीसहित पाँच जनालाई पक्राउ गरेको थियो।
म्याच फिक्सिङको घटनासँगै खेल जगतबाट ओझेल परेका केसी मंगलवार फेरि एकाएक चर्चामा आए। उनको चर्चा खेल विरासतको थिएन। दोस्रो पटक उनी अपराधको आडमा नै चर्चित बने। महानगरी प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरबाट केसीलाई ‘अनलाइन जुवा’ खेलाएको अभियोगमा पक्राउ गर्यो।
३५ वर्षीय केसी ललितपुर जिल्लामा जुवाको मुख्य एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दावी छ। उनले भुपेन्द्र शम्शेर कुँवरसँग मिलेर जुवा खेलाउँदै आएका थिए।
केसीले आफ्नो अकाउन्टबाट मात्र २ करोड ७७ लाख ५ हजार रुपैयाँसम्मको जुवा खेलाएको खुलेको छ। काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले भने, 'केसी ललितपुर जिल्लाका मुख्य एजेन्ट हुन्। उनी गौरव तिवारीसँग मिलेर जुवा खेलाउँथे।'
थ्रीस्टार टिमका पूर्व खेलाडी केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। २०७२ साल कार्तिकमा उनी म्याच फिक्सिङमा समातिएका थिए। 'म्याच फिक्सिङको घटना बाहिरिएको समयमा पनि उनी जुवाको खेलमा रहेको देखिएको छ। म्याच फिक्सिङ र जुवा दुवै सँगै लगेको प्रारम्भिक अनुसन्धानमा देखियो।'
जुवा खेलमा पक्राउ परेका मुख्य अभियुक्त भने गौरव तिवारी हुन्। उनी नेपालका मुख्य एजेन्टमा मानिन्छन्। यसबाहेक उनको सुन्धारमा रहेको सिभिल मलमा ‘१२ डी’ हल समेत संचालनमा छ। तिवारीको २४ वटा एकाउन्टबाट अहिलेसम्म ७ करोड १४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको फेला परेको छ। उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ।
म्याच फिक्सिङदेखि मानव तस्करीसम्म
पछिल्लो समय विभिन्न अभियोगमा खेलाडीहरु पक्राउ परिरहेका छन्। मंगलवारमात्र पूर्व फुटवलर अञ्जन केसी पक्राउ परेका हुन्। जुवा खेलाएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।यसभन्दा अगाडि म्याच फिक्सिङमा प्रहरीले पूर्व कप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षेत्री, संदीप राई पक्राउ परेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो।
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले शाहीलाई गत वर्षको असारमा पक्राउ गरेको हो। शाहीले २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेको उजुरी परेको थियो।
त्यस्तै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले नक्कली खेलाडी बनाएर विदेश पठाएको भन्दै पक्राउ गरेको थियो।