काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलवार प्रदेश नम्बर २ र ३ ले जित हात पारेका छन्। बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको दिन प्रदेश ३ ले भने ब्याटिङमा उत्कृष्ट कमब्याक गर्दै प्रदेश ६ लाई ३ विकेटले हरायो।
यस्तै प्रदेश २ ले पनि उत्कृष्ट बलिङमै सहयोगमा सामान्य लक्ष्य डिफेण्ड गर्दै प्रदेश ४ लाई पराजित गर्यो।
लोअर अर्डरका रुपेश श्रीवास्तव र बलर किशोर महतोले सम्हालियर खेलेपछि प्रदेश ३ ले १७९ रनको लक्ष्य ३६.३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो। प्रदेश ६ का चन्द्र बिसी एक्लैले ६ विकेट लिएपनि प्रदेश ३ लाई जितबाट रोक्न सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले ४७.४ ओभरमा अलआउट हुँदै १७८ रन बनाएको थियो। ६ का लागि कप्तान रवीन्द्र शाही र दिवान पुनले समान ५२ रन बनाए। ७५-५ को अवस्थामा रहेको प्रदेश ट को इनिङ्स उकास्न यी दुईले छैटौँ विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। यस्तै टेक सलामीले २६ रन जोडे। बलिङतर्फ प्रदेश ३ का किशोर महतो र जितेन्द्र ठकुरीले २–२ विकेट लिए। १७९ रनको सामान्य लक्ष्य पछ्याएपनि प्रदेश ३ ले खराब सुरुवात गरेको थियो।
तेस्रो ओभरसम्म १० रन जोड्दा सुरुको ३ विकेट गुमाएको प्रदेश ३ का लागि मध्यक्रममा खेलाडी आदिल खान, सन्जय बस्नेत र इशान पाण्डेले इनिङ्स सम्हाले। खानले ३१, पाण्डेले २३ तथा बस्नेतले २० रन योगदान गरे। ८४ रन जोड्दा ६ विकेट गुमाएको प्रदेश ३ लाई जितसम्म पुर्याउन रुपेश र किशोरले उत्कृष्ट साझेदारी गरे।
यी दुईले आठौँ विकेटका लागि नटआउट २६ रनको साझेदारी गरे।
रुपेशले ६३ बल खेल्दै ६ चौकाको मद्दतमा नटआउट ३९ रन बनाए। यस्तै किशोरले २८ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन जोडे।
प्रदेश ६ का चन्द्र बिसीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ६ विकेट लिए। उनी खेलको म्यान अफ द म्याच घोषित भए।
यस्तै मुलपानी मैदानमा भएको खेलमा भेट्रान स्पीनर सन्जम रेग्मीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि प्रदेश २ ले प्रदेश ४ लाई ६७ रनले हरायो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४४.३ ओभरमा अलआउट हुँदै १५८ रन मात्र बनाएको थियो। तर सन्जमको घातक बलिङसामु टिक्न नसकेको प्रदेश ४ पनि ९१ रनमै अलआउट भयो।
प्रदेश २ का लागि विसाल सुस्लिङले सर्वाधिक २६, रसिद खानले १८ तथा कप्तान मेहबुब आलम र राहुल प्रताप सिंहले समान १७ रन बनाए। प्रदेश ४ का विपिन खत्ती र हरी चौहानले ३-३ विकेट लिए।
१४९ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ४ ले २८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। उसका लागि खनिल गुरुङ ३६ तथा सुमा घिमिरेले ३२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खातासमेत खोल्न सकेनन्।
प्रदेश २ का सन्जम रेग्मीले १० ओभर बलिङ गर्दै ३ मेडन राखेर १६ रन मा खर्चदै ५ विकेट दिए। यस्तै संसद शेखले ८ ओभरमा ३ मेडन राख्दै २० रन दिएर ४ विकेट लिए।
सन्जम खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत बुधवार टियु मैदानमा प्रदेश १ र ४ तथा मुलपानीमा प्रदेश ५ र प्रदेश ७ बीच खेल हुनेछ।