
काठमाडौं : सरकारले सवारी साधनको सीसीका आधारमा नयाँ कर निर्धारण गर्दै अन्त:शुल्क बढाएको छ। बजेटमार्फत् महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढाएको छ।
अब ठूला सीसीका गाडी र बाइकको मूल्य बढ्नेछ। सरकारले बजेटमार्फत हजार सीसीभन्दा माथिका गाडी र डेढ सय सीसीभन्दा माथिका बाइकमा लाग्दै आएको अन्त:शुल्क बढाएको हो।
यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो। लक्जरी गाडी र बाइकको अन्त:शुल्क सय प्रतिशतसम्म पुगेको छ। राजस्व सचिव शिशिर ढुंगानाले सीसीका आधारमा कर निर्धारण भएको बताउँदै अब हजार सीसीसम्मका गाडीलार्इ अन्त:शुल्कमा कुनै परिवर्तन नगरिएको जानकारी दिए।
‘हजार सीसीदेखि १५ सय सीसीसम्मको गाडीमा ६५ प्रतिशत अन्तशुल्क तिर्नुपर्नेछ,’ उनले भने। यसमा पाँच प्रतिशत बिन्दुले अन्तशुल्क बढेको हो।
बजेटले १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत अन्तशुल्क पुर्याइएको छ। यो भनेको १० प्रतिशत बिन्दुले कर बृद्धि हो। बजेटले दुर्इ हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत पुर्याइएको छ। बजेटमा २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत अन्तशुल्क पुर्याइएको छ।
बजेटमा ३ हजारदेखि माथि गाडीलार्इ सय प्रतिशत अन्त:शुल्क पुर्याइएको छ। बाइकमा समेत डेढ सय सीसीदेखि माथिमा अन्तशुल्क बढाइएको छ। हजार सीसीभित्रका सुजुकीको अल्टो तथा सेलेरियो , रेनल्टको क्वीड, हुन्डार्इको इयोन र डाट्सन गाडीको मूल्य यथावत रहनेछ।
नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका निर्वतमान अध्यक्ष अन्जन श्रेष्ठले हजार सीसीभन्दा बढीका गाडीको मूल्य बढाउने बताए। ‘तत्कालै मूल्य कति बढ्छ भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने।
उनले न्यूनतम एक लाख रुपैयाँदेखि सीसीका आधारमा मूल्य बढ्दै जाने जानकारी दिए। श्रेष्ठले अटो बजारलार्इ नयाँ बजेटले थप समस्यामा पार्ने बताए।
‘गाडीको कारोबार अहिले मन्दीको अवस्थामा थियो। तर अन्तशुल्क बढ्दा थप व्यापार संकटमा पर्नेछ,’ उनले भने। नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले गाडीमा अन्त:शुल्क बढाउने निर्णयले राजस्वमा अपेक्षित लाभ प्राप्त नहुने बताए।
‘बजेट समग्रमा राम्रो छ। तर गाडीमा अनुदार छ। अहिले नै गाडीको बिक्री राम्रो छैन। अन्त:शुल्क बढाउँदा कारोबार प्रभावित पार्छ,’ उनले भने, 'यसले राजस्व बृद्धि गर्ने लक्ष्यलार्इ प्रभावित बनाउनेछ।‘