PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

भारतमा हावाहुरी र चट्याङबाट ५० भन्दा बढीको मृत्यु



पहिलोपोस्ट

 भारतमा हावाहुरी र चट्याङबाट ५० भन्दा बढीको मृत्यु
तस्विर :AFP

एजेन्सीः भारतमा २४ घण्टायता भारीसँगैको चट्याङमा परी ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ। चट्याङमा परी कम्तीमा ५० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन्।
 
साथै बाढीका कारण कयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका बस्तीहरू प्रभावित बनेका छन्।
     
बिहारको पटनामा वर्षा र चट्याङ पर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको त्यहाँका अधिकारीले जानकारी दिएका छन्। मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ।
 
त्यस्तै भारतको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको र कम्तीमा १० जना घाइते  भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारीहरूले बताएका छन्।हुरी र वर्षाका कारण गया जिल्लामा ५, कटिहार जिल्लामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। चट्याङका कारण औरंगाबाद जिल्लामा ५, नवादामा ४ र मुंगरमा ३ जनाको मृत्यु भएको छ ।

भारतकै अर्को प्रदेश झारखण्डमा पनि चट्याङ कारण १२ व्यक्तिको मृत्यु भएको र २८ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। त्यस्तै उत्तराखण्डको उत्तरकाशीमा आँधीका  कारण एउटा रुख ढलेर घरमा खस्दा ३ जना बालकहरूको मृत्यु भएको छ। 

मौसम विज्ञान विभागले जम्मु काश्मीर, हिमाचल प्रदेश, पूर्वी मध्य प्रदेश, छत्तीसगढ, बिहार र झारखण्डका केही भागहरूमा उच्च हावा चल्न सक्ने र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell