
कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले विश्वकपको वार्म अफ म्याचमा हाइटीलाई ४-० ले पराजित गरेको हो।
ब्युनर्स आयार्समा भएको खेलमा मेसीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे। अर्को गोल वैकल्पिक खेलाडी सर्जियो अगुएरोले थपे।
मेसीले १७औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ५८औँ र ६६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
अगुएरोले ६९औँ मिनेटमा अर्जेन्टिनाका लागि चौथो गोल गरे। रसियमा हुने विश्वकप खेल्न जानुअघि अर्जेन्टिनाले अर्को साता इजरायलसँग वार्म अफ म्याच खेल्नेछ।
समूह डी मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग जुन १६ मा पहिलो खेल खेल्नेछ। त्यसपछि क्रोएसिया र नाइजेरियासँग खेल्नेछ।
यस्तै ज्याभिएर मास्केरानोले अर्जेन्टिनाका लागि सर्वाधिक १४३ खेल खेल्ने पूर्व कप्तान ज्याभिएर जानेट्टीको कीर्तिमान बराबरी गरेका छन्। हाइटी विरुद्ध खेल्दै मास्केरानोले उक्त उपलब्धी हासिल गरे।
खेलअघि उनलाई अर्जेन्टिना फुटबल संघले कम्मेरेटिभ सर्ट प्रदान गरेको थियो। सन् २००३ मा उरुग्वे विरुद्ध डेब्यु गरेका मास्केरानोले ३ गोल समेत गरेका छन्।