
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको भनिएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानका क्रममा तस्करीका अनौठा प्लटहरु खुलेको थियो।
तस्करहरुले दुबईबाट काठमाडौँ सुन भित्र्याउन थाई एयरलाइन्सको विमानको भर्याङ प्रयोग गरेका थिए।
सुन ल्याउने व्यक्तिले विमानभित्रको ट्वाइलेटको डस्टबिनमा सुन राख्थे। त्रिभुवन विमानस्थलमा विमान अवतरण भइसकेपछि विमानका कर्मचारीले डस्टबिनबाट त्यो सुन निकाल्थे। अनि यात्रुहरु ओर्लनको लागि लगिने भर्याङमा विशेष किसिमको बनाइएको प्वालमा खसाल्थे।
जहाजमा यात्रुहरु चढ्ने र ओर्लने इन्जिनसहितको भर्याङ हुनेगर्छ। त्यसको मेन च्यानलमा रहेको प्वालमा बोल्ट लगाई बीचमा सुन अड्किने ठाउँ बनाइएको थियो।
यात्रुहरु चढ्ने र ओर्लने काम सकिएपछि भर्याङलाई सुरक्षित रुपमा विमानस्थलको ग्यारेजमा राख्ने गर्थे। राति भएपछि भर्याङको प्वालबाट सुन निकाल्ने र निकालिएको सुन शरीरमा लुकाई आयल निगमको गेट हुँदै एयरपोर्टबाट बाहिरिने गरेको थियो।
भर्याङ मोडिफाइ गर्ने आइडिया कसको थियो त?
यो मास्टर प्लान फरार रहेका डाक्टर डेविट भन्ने छिरिङ घले भएको खुलेको छ। डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरुङका साला हुन्। गुरुङले नै बयानमा भर्याङको डिजाइन डेविटले बनाएको बताएका छन्।
सुन तस्करीको छानबिन गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीसितको बयानमा गुरुङले सालाको योजनामा नै अध्यागमन विभाग र भन्सारलाई समावेश नगराउने गरी प्लेनको योजना बनाएको बताएका हुन्।
अध्यागमनका कर्मचरीलाई तस्करीको हिस्सा दिनुपर्ने र पोल खोलिने भएपछि डेविटले यस्तो योजना बनाएको खुलेको हो।
त्यस्तै २०४५ सालदेखि सुन तस्करीमा सकृय भुजुङ बीचमा तस्करीको दुनियाँबाट बाहिरिएको अभियोग पत्रमा नै उल्लेख छ। भुजुङले २०६९ सालमा गोरेसँगको भेट पछि सुन तस्करीम लगेको बताएका छन्। तर भुजुङलाई तस्करीमा लाग्न उनकै साला डेविटले प्रोहोत्सान गरेका थिए। आफू पनि काममा लाग्ने भनेपछि भुजुङले फेरि सुन तस्करी गरेको खुलेको हो। डेविट सुरा स्वभावका थिए।
गोरेले अहिले पनि हराएको ३३ किलो सुन भुजुङ र उनकै साला डेविटले लुटेको बताइरहेका छन्। डेविट भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।