काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको संघीय समाजवादी फोरम नेपालले पार्टीबाट मन्त्री चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।
फोरम नेपालको आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष यादवलाई जिम्मा दिएको हो।
दुई मन्त्रीसहित एक राज्यमन्त्री पाएको फोरममा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई जिम्मेवारी दिइएको हो।
स्रोतका अनुसार अध्यक्ष यादव आफैँ शहरी विकास मन्त्रालयको जिम्मवारी सम्हाल्दैछन् भने एक मन्त्री र एक राज्यमन्त्रीको चयन पनि उनैले गर्नेछन्।
फोरम उपाध्यक्ष रेणु यादव र राजेन्द्र श्रेष्ठबीच अर्को मन्त्रालयका लागि प्रतिस्पर्धा छ।
आज साँझसम्म नाम टुंगो लगाएर भोलिसम्म शपथग्रहण कार्यक्रमको तयारी रहेको जनाइएको छ।