
काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ। राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुनेछ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन्। पेस भएका विधेयकमाथि आजदेखि छलफल हुन लागेको हो।
अर्थमन्त्रीले मंगलबार वार्षिक बजेट संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए। १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट अर्थमन्त्रीले पेस गरेका हुन्।
बजेट छलफलका लागि प्रतिनिधिसभाले तीन दिनको समय तोकेको छ। आजदेखि सुरु हुने छलफल आइतबार सकिनेछ। आइतबार बजेटमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।
अर्थमन्त्रीले दुबै सदनमा जवाफ दिनेछन्। बजेटका विधेयकमध्ये विनियोजन विधेयक ढिलामा पनि असार मसान्तभित्र पारित भइसक्नु पर्नेछ।