
काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्टले भौतिक पूर्वाधारका कारण अर्को वर्ष नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद साग गेम्स नरोकिने बताएका छन्।
बिहीवार मन्त्रालयले सय दिने प्रगती विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री र सदस्य सचिवले उक्त धारणा राखेका हुन्।
'हाम्रो मुख्य फोकस भने १८औँ एसियन गेम्स,१३औँ साग गेम्स र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हो। नेपालमै हुने १३औँ सागका लागि भौतिक पूर्वाधार निर्माण कार्य समयमै पूरा गर्नेछौँ।' मन्त्री सुनारले भने।
यस्तै राखेपका सदस्यसचिव विष्टले पूर्वाधारको कारण साग गेम्स नरोकिने उल्लेख गर्दै दशरथ रंगशाला, पोखरा रंगशाला लगायतको निर्माण कार्य तोकिएकै समयमा पूरा हुने बताए।
'अबको १० महिनामा दशरथ रंगशालाको सबै निर्माण सकिन्छ सकिन्छ त्यो पनि व्यवस्थित रुपमा। १३औँ सागको ओपनिङ र क्लोजिङ नै रंगशालामा गर्नेछौँ।' विष्टले भने। 'पोखरा रंगशाला पनि १० महिनाभित्र तयार पार्नेछौँ।'
नेपालले सन् २०१९ को मार्चमा १३औँ साग गेम्स आयोजना गर्ने तय भएको छ।
यस्तै विष्टले १३औँ सागका लागि काठमाडौं र पोखरा बाहेक अन्य स्थानमा पनि पूर्वाधार निर्माणको तयारी भइरहेको बताए। मन्त्रालयको प्रगती विवरणमा पनि १३औँ सागका लागि खेलकुद पूर्वाधारको स्तर उन्नती कार्य जारी रहेको उल्लेख छ।
नेपालमा आगामी ३ वर्ष भित्र अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने गरी भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा जग्गा पहिचान गरेको र उक्त जग्गा प्राप्तीको लागि चाँडै प्रक्रिया अगाडी बढाइने जनाएको छ।
यस्तै मूलपानी क्रिकेट मैदानको जग्गाको समस्याको बारे जग्गा सट्टापट्टा गरी समस्या समाधानका लागि नेपाल सरकार मन्त्रीपरिषद्का पेश गरेको मन्त्रालयले जनाएको छ।
यसैगरी ७ वटै प्रदेशमा प्रादेशिक रैगशाला निर्माणका लागि जग्गा उपलब्ध भइसकेको र प्रदेश ५ को दाङमामात्र नयाँ जग्गा खोज्नुपर्ने सदस्य सचिव विष्टले बताए।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीलाई मासिक रुपमा प्रोत्साहन भत्त उपलब्ध गराउने, स्वास्थय बिमा गर्नको लागि बजेट व्यवस्था गरिएको मन्त्री सुनारले बताए।
उनका अनुसार आगामी आर्थिक वर्षदेखि अन्तर्राष्ट्रिय खेलमा स्वर्ण विजेतालाई मासिक ५ हजार तथा ओलम्पियनहरुलाई मासिक ३ हजारका दरले प्रोत्साहन भत्ता दिइने गरी व्यवस्था गरिएको हो।
यस्तै सय दिनको अवधीमा खेलसंघको अभिलेख राख्नको लागि १५० संघबाट विवरणहरु प्राप्त गरिकसको उल्लेख छ। यस्तै खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना खेल प्रशिक्षक समेत नियुक्त गरेको उल्लेख छ।
यस्तै मन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन अगाडी धुर्मुस र सुन्तलीसँग आजकल सम्पर्क नै नभएको बताए।