
काठमाडौं : सांसद प्रेम सुवालले ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै प्रश्न खडा गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्।
‘सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नु भएको म त भुरा मात्र हुँ। धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ। अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ। मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि? भन्ने प्रश्न उठिरहेको छ।
प्रहरी भन्दा चोर अगाडि बढ्नु पुजिवादी गणतन्त्रकै कारण भएको भन्दै सांसद सुवालले भारतमा ७० वर्ष देखिएको यो प्रवृति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए।
उनले नेपाली पानी जहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने बताए।"ठूला माछा भनेको प्रधानमन्त्री नै त होला नि"
— PahiloPost (@PahiloPost) May 31, 2018
"प्रहरीभन्दा चोर अगाडि बढ्नु पूँजिवादी गणतन्त्रकै कारण हो"
- प्रेम सुवाल, सांसद, नेमकिपा pic.twitter.com/7Qqn5C3LWx
अन्तर्राष्ट्रिय रंगशाला भक्तपुरमा होइन मकवानपुरमा
यसैबीच सांसद सुवालले सार्वजनिक महत्त्वको विषय भन्दै भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्मणको विरोध गरेका छन्। ‘भक्तपुरको सिपाडोल नङखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा जग्गा एकीकरण आवास योजना सञ्चालन गरी प्राप्त हुने २००० रोपनी भन्दा बढी जग्गामा ताथलीको टेडोल र रातोपाटी स्थित जग्गामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने समाचार छ,’ उनले भने, ‘काठमाडौँ उपत्यका र भक्तपुरमा त्यति धेरै खुला क्षेत्र छैन। यसले कृषिमा आधारित पचास साठी हजार जनतालाई विस्तापित गर्छ। खाद्यान्न र वेरोजगारी समस्या निम्त्याउँछ।’बजेटको यो कदम हिटलरको यहुदी जाति विरुद्ध सफाया अभियान चलाएजस्तै हुने भन्दै अगाडि भने, ‘फासिवाद समाजवाद होइन।’
‘अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रदेश ३ को राजधानी रहेको मकवानपुरमा बनाउन उपर्युक्त हुने छ। काठमाडौं उपत्यकामा यति धेरै जग्गा छैन्,’ उनले भने, ‘अन्तराष्ट्रिय रगशाला मकवानपुरमै बनाइनुपर्छ। काठमाडौँ उपत्यकामा त्यति जग्गा छैन।’
संविधानमा नेपाल समाजवाद उन्मुख भएको बताएकोले बजेट पनि त्यतै तर्फ उन्मुख हुनुपर्ने सांसद सुवालले बताए। ‘दुई तिहाईको सरकारको बजेट कामदार वर्गको पक्षमा समाजवाद उन्मुख हुनुपर्ने हो। तर पुजिवादी समाजवाद उन्मुख छ,’ उनले भने।
सांसद सुवालले कमृचारी ट्रेढ युनियनको अन्त्य र न्याय क्षेत्रमा दलको सिन्डिकेट अन्त्य हुनुपर्ने बताए। उनले खानेपानीको हाहाकारको अन्त्यको स्पष्ट योजना नभएको समेत बताए।
सिंहदरबारको अधिकार गाउँमा भनिए पनि कालिकोट सदरमुकामको चामल गाँउसम्म नपुगेको भन्दै उनले प्रश्न उठाए।
महंगी नियन्त्रण हुनुपर्ने भन्दै उनले भने, ‘महंगी आकासिएको भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्रीले आँफू सानो हुँदा एक तोला सुनको मूल्य ९० रुपैयाँ मात्र भएको जवाफ दिनुभयो। नेपालमा कर्मचारीको तलब भत्ता भन्दा महंँगी बढी बढ्छ यसकारण महंगी नियन्त्रण गर्नुपर्छ।’