
काठमाडौं : सांसद गजेन्द्रबहादुर महतले बजेटले जुम्लालाई हल्लाएको बताएका छन्। बजेटबारे छलफलका क्रममा सांसद महतले सुरुमा बजेटको स्वागत गरे।
‘बजेटको बचाउ मैले गर्नुपर्छ जस्तो लाग्दैन। बचाउ कमजोर बस्तुको गर्ने हो। सम्मानित गिरिजाप्रसाद कोइरालाले भनेको मेरो कानमा अझै गुञ्जिएको छ। ‘तिमीहरुको विरोधले यो हल्लिँदैन’ भन्नु भएको थियो,’ उनले भने, ‘बजेट बलियो तर बजेट हल्लिँदैन। तर, बजेटले मलाई हल्लाएको छ, यो बजेटले जुम्लालाई हल्लाइरहेको छ।’
उनले बजेट अकाशको फल आँखातरी मर भने जस्तो भएको टिप्पणी गरे।
‘लंकामा सुन छ कान मेरो बुच्चै। न घरको न घाटको यो बजेट यस्तो छ। यो बजेट मेरा लागि न हर्ष न विस्मातको छ।’
विकासका धेरै कुरा समेटेको बजेटले जुम्लालाई समेट्न नसकेको आरोप उनले लगाए। ‘विकासका धेरै कुरा समेटेको छ शहरका लागि। सायद त्यहाँ नेताहरु छन् होला। अथवा घना बस्ती भएर होला। सबै शहरकै जिम्मा छ,’ उनले भने, ‘रोजगारको जिम्मा सबै बैंकलाई दिइएको छ। जो बैंकले रोजगार कहिल्यै दिएन।’
उनले बैंकहरु सुदखोर भएको समेत आरोप लगाए। ‘यी बैंक कस्ता छन् भने सुदखोरहरु, हिजोका सामन्तहरु, हिजोका मुखियाहरु अहिले बैंक थापेर बस्या छन्। जसलाई रोजगारको जिम्मा लगाइएको छ,’ उनले भने।
उनले स्वास्थ्यको जिम्मा विमा कम्पनीलाई लगाइएको भन्दै विरोध गरे। ‘अब हामी कर्णालीका मान्छे त्यो विमाको कार्ड लिएर कहाँ जाने हो? जुम्लाका मान्छे कहाँ जाने हो,’ उनले प्रश्न गर्दै भने, ‘विमा कार्ड लिएर आउन जान हामीलाई पचास हजार लाग्छ। काठमाडौंका मान्छे पाँच रुपैयाँ १० रुपैयाँ खर्च गरे वीर अस्पताल पुग्न सक्नुहुन्छ। म जुम्लाबाट आँउदा ५० हजार रुपैयाँ भाडा लाग्छ। अब म त्यो विमाको कागज लिएर कता जाने हो?’
बजेटले सांसदहरुलाई तह लगाउन खोजिएको आरोप लगाए। उनले बजेटले सांसदलाई वडाध्यक्षको ठाउँमा लिएर राखेको भन्दै प्रश्न गरे, ‘कोही मन्त्री हुँदैमा सांसदलाई तह लगाउन पाइन्छ?’
संसद विकास कोषको रकम हटाइएको भन्दै उनले आक्रोश पोखे, ‘चाहिएको छैन हामीलाई त्यो चार करोड, नेताहरुको ठाँउमा जति जान्छ बजेट त्यति दिनुस्। मैले एउटा हाइड्रो पावर सोचेको छु। त्यो हाइड्रो पावरमा हाल्दिनुस्, भयो। मलाई चाँहिँदैन त्यो चार करोड।’