PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पितृसत्तात्मक सोचको उपज 'अश्वेत'



रीना मोक्तान

पितृसत्तात्मक सोचको उपज 'अश्वेत'

काठमाडौं : माता रेनुका  असङ्ख्य प्रश्न, त्राससहित सेतो साडीमा उभिएकी छिन्।  केही बिराएकी उनको मनमा थोरै आशा पनि बाँकी नरहेको होइन। सँगै छन् उनका पति जमदग्नि, जो सुनुवाई गर्न बसेका छन्। 

पूजा गर्न ढिला भएका कारणमा जमदग्निले रेनुकालाई मार्न आफ्ना दुई छोराहरुलाई आदेश दिन्छन्। बुबाको आदेशमा आमाको काटेर हत्या गर्छन् छोरा परशुरामले।  

पौराणिक घटनाको एउटा दृश्यसँगै शूरु हुन्छ नाटक 'अश्वेत'। र जोडिन्छ वर्तमान प्रेमकथासँग। कथा हो अस्मिता र प्रसुनको प्रेमको। जो एकअर्कालाई औधी प्रेम गर्छन् र आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गर्ने निर्णयमा पुगेका हुन्छन्।

दुवैका घरमा विवाहको कुरा चल्छ। तर, बिहे अघि नै अस्मिता गर्भवती हुन्छे। आफ्नो पेटमा हुर्किंँदै गरेको नयाँ जीवन बारे अस्मिताले प्रसुनलाई सुनाउँछिन्। तब प्रसुन नकारात्मक प्रस्तुत हुन्छ। दाइजोमा बाइक नपाउने कारण उ त विवाह नै नगर्ने निर्णयमा पुगेको हुन्छ। प्रसुनले अस्मिता र उसको गर्भ सिधै अस्वीकार गर्छ।

सधैं प्यारी भन्दै अस्मितालाई सम्बोधन गर्ने प्रसुनले त्यसदिन भन्छ, 'कसको पाप बोकेर आइस्?'

अस्मिताको बच्चालाई दागको संज्ञा दिंँदै प्रसुनका परिवारले पनि विवाह हुन दिंँदैनन्।

तर, अस्मिताले बच्चालाई जन्माउने निर्णय परिवारलाई सुनाउँछिन्।

त्यसपछि के हुन्छ? यसकै परिधिमा नाटक घुम्छ। राष्ट्रिय नाचघर जमलमा मञ्चन भइरहेको नाटकलाई राम के.ए.सी ले निर्देशन गरेका हुन्।

के.ए.सी कै लेखनमा तयार भएको नाटकले ईश्वरको समयमा मात्र नभइ अहिले पनि नारी उत्तिकै उत्पीडन, पीडा, पितृसत्तात्मक सोचले थिचिए, जिउनु पर्ने भावलाई मुख्य विषय बनाएको छ।  महिला सशक्तिकरण, नारीवादी आवाज र नारी आन्दोलनका कुरा भए पनि वर्तमान समाजमा महिलालाई कसरी हेरिन्छ? भन्ने प्रश्नको जवाफ हो नाटक।

आज पनि समाजमा कयौं अस्मिताहरुको चरित्रमाथि इमान र स्वाभिमानीमाथि  प्रसुनहरुले प्रश्न उठाइरहेका हुन्छन्। प्रसुन पनि अस्मितासँगै शारीरिक सुखभोगमा बराबर सहभागी थिए। तर, दाग अस्मिताको चरित्रमा मात्र लाग्यो। प्रसुन निख्खर ठहरियो। इमानका साथ बच्यो।

प्रतिनिधि पात्र बनाएर उभाइएका अस्मिता र प्रसुनले दर्शकलाई मञ्चमा आकर्षित गरिरहन्छन्।  मञ्चमा प्रयोग गरिएका प्रसंगहरु घटना सान्दर्भिक लाग्छन्। नाटकका दृश्यहरुसँगै बज्ने संगीतले घटनालाई जिवन्त बनाउँछ।  तर, मञ्चमा प्रयोग प्रकाशमा भने पर्याप्त काम भएको छैन। अनावश्यक प्रकाशको प्रयोगले दर्शकको ध्यान विकेन्द्रित गर्छ। एउटै कलाकारले फरक भूमिका निर्वाह गर्नुले पनि अभिनयको पाटोलाई कमजोर बनाएको छ।

नाटमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, एलिजा अधिकारी, शिक्षा केसी, दिलीप खड्का, तिर्सना राई, किरण चापागाईं र विज्ञान गजुरेलले अभिनय छ।

नेपथ्यमा संगीतर्फ शिवप्रसाद अधिकारी र भि एफ एक्समा मिलन लोहनी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell