PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएमकप क्रिकेट : सोमपालको अलराउण्ड प्रदर्शनमा आर्मीको विजयी सुरुवात

पिएमकप क्रिकेट : सोमपालको अलराउण्ड प्रदर्शनमा आर्मीको विजयी सुरुवात

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सोमपाल कामीले अलारउण्ड प्रदर्शन प्रेरित त्रिभुवन आर्मीले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप वान डे क्रिकेटमा विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई डिएल मेथडको आधारमा ५५ रनले हरायो।

आर्मीको जितमा राजु रिजालले अर्धशतक प्रहार गरे भने सोपालले आक्रमक ब्याटिङ गर्दै २८ बलमा ४१ रन बनाउनुका साथै ३ विकेट समेत लिए। सुसन भारीले किफायती बलिङ गर्दै २ विकेट लिए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाएको थियो। आर्मीका लागि मध्यक्रमका ब्याट्सम्यान राजु रिजालले सर्वाधिक ५० रन बनाए।

यस्तै म्यान अफ दि म्याच सोमपाल कामीले ४१ रन बनाए। आठौँ नम्बरमा ब्याटिङ गर्दै २८ बल खेलेका सोमपालले ३ चौका र १ छक्का प्रहार गरे। यस्तै राजेश पुलामीमगरले ४०, अनिल मण्डलले ३५ तथा कप्तान बिनोद भण्डारीले २३ रन जोडे।

बलिङतर्फ प्रदेश २ का दिब्यांशु मल्लिकले ३, शांसद शेख र कप्तान मेहबुब आलमले २–२ विकेट लिए।

२४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ८ ओभर खेलेपछि वर्षाले खेल प्रभावित बनेको थियो। १ घण्टापछि पुन: सुरु भएको खेल ४० ओभरमा छोट्टाइएको थियो र प्रदेश २ ले ४० ओभरमा २३८ रनको नयाँ लक्ष्य पाएको थियो।

तर प्रदेश २ ले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो।

खेलको तेस्रो ओभरमै ओपनर कुन्दन सिंह शुन्यमा आउट भएपछि हरिशंकर शाह र हसिम अन्सारीले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। तर हरिशंकर ३४ तथा अनुसारी २८ रनमा आउट भएपछि प्रदेश २ को लगातार विकेट पतन भयो।

१५औँ ओभरमा ७३-३ रहेको प्रदेश २ ले २७औँ ओभरमा १०९ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो। तर नवौँ नम्बरका रसिद खान र दशौँ नम्बर ब्याटिङ गरेका सुरज पटेलले राम्रो साझेदारी गर्दै प्रदेश २ को रन उकासेपनि जितसक्क पुर्‍याउन सकेनन्। रसिद र सुरजले नवौँ विकेटका लागि ४३ रनको साझेदारी गरे। रसिदले ४० बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए।

४८ बल खेलेका सुरजले ६ चौका र २ छक्काको मद्दतमा नटआउट ४८ रन नै बनाए।

प्रदेश २ लाई जितबाट रोक्न आर्मीका सोमपाल कामीले ८ ओभर बलिङ गर्दा १ मेडन राख्दै ४१ रन खर्चेर ३ विकेट लिए। यस्तै ७ ओभर बलिङ गरेका सुसनले १० रन मात्र खर्चेर २ विकेट झारे। सागर पुन र सहाब आलमले पनि २-२ विकेट लिए।

सागरले ८ ओभर बलिङ गर्दा २ मेडन राख्दै २३ रन खर्चिए भने ६ ओभर बलिङ गरेका आलमले १ मेडन राख्दै २२ रन खर्चे।

 



ट्रेन्डिङ पोस्ट

Ncell