
विश्व खेलकुदको सबैभन्दा ठूलो मेला फिफा विश्वकप फुटबलको २१औँ संस्करण अर्को महिना रसियामा हुँदैछ। विश्वकपको ट्रफी उचाल्नका लागि सहभागी ३२ राष्ट्र अहिले तयारीमा छन्। विश्वकप सुरु हुन् अब २ साता मात्र बाँकी रहँदा रसियामा कसले उपाधि जित्ला, कसले राम्रो प्रदर्शन गर्ला जस्ता विषयमा चर्चा सुरु भइसकेको छ।
अहिलेसम्म भएका २० विश्वकपमध्ये ८ राष्ट्रले मात्र उपाधि जितेका छन्। जसमा विश्वकपका सदाबाहर दाबेदार ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ। यस्तै जर्मनी र इटलीले ४-४ तथा उरुग्वे र अर्जेन्टिनाले समान २-२ पटक उपाधि जितेका छन्। इंगल्याण्ड, फ्रान्स र स्पेन १-१ पटक च्याम्पियन भएका छन्।
८ पूर्व च्याम्पियनमध्ये यसपटक ७ राष्ट्रले मात्र रसियामा खेल्नेछन्। इटली भने यसपटक छनोट हुन सकेन।
झण्डै ९ दशक लामो विश्वकपको इतिहास यस्तो छ।
सन् १९२४ र १९२८ को ओलम्पिक फुटबल प्रतियोगिता जितेको उरुग्वेले सन् १९३० को पहिलो संस्करणको विश्वकप आयोजना गर्ने अवसर पायो। उरुग्वेको राजधानी मोन्टेभिडियोमा भएको पहिलो विश्वकपको उपाधि आयोजक उरुग्वेले नै जित्यो। उरुग्वे विश्वकप जित्ने पहिलो राष्ट बन्यो। १३ राष्टको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराएको थियो।
पहिलो विश्वकपको फाइनलमा दुइवटा बल खेलाइएको थियो। दुबै टोलीबीच कसको बल खेलाउने भन्ने विषयमा विवाद भएपछि पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गरिएको थियो। रोचक कुरो त के छ भने पहिलो हाफमा अर्जेन्टिनाले २-१ को अग्रता लिए पनि दोस्रो हाफमा उरुग्वेको बल खेलाएपछि उरुग्वेले उत्कृष्ट कमब्याक गर्दै ४-२ ले खेल जितेको थियो। फ्रान्सका लुसियन लरेन्ट विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने। उनले उद्घाटन खेलमा मेक्सिको विरुद्ध १९औं मिनेटमा गोल गरेका थिए।
१९३४ र १९३८ मा भएको दोस्रो र तेस्रो विश्वकप जित्दै युरोपियन राष्ट्र इटली लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो। १९३४ मा घरेलु मैदानमा भएको विश्वकप फाइनलमा इटलीले चेकोस्लोभाकियालाई २-१ ले पराजित गर्दै पहिलो विश्वकप जितेको थियो।
अर्को युरोपियन राष्ट्र फ्रान्समा भएको १९३८ को विश्वकपमा भने इटलीले हंगेरीलाई ४-२ ले पराजित गर्दै उपाधि जित्यो। इटलीका भिटोरियो पोजो दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक बने।
त्यसपछि दोस्रो विश्व युद्धका कारण सन् १९४२ र १९४६ को विश्वकप फुटबल हुन सकेन। फाइनल नखेलाई पहिलोपटक विश्व विजेताको छिनोफानो गरिएको १९५० को चौथो विश्वकप उरुग्वेले जित्यो। ब्राजिलको माराकाना रंगशालामा भएको अन्तिम खेलमा आयोजक ब्राजिललाई २-१ ले पराजित गर्दै उरुग्वे दोस्रोपटक विश्व च्याम्पियन बनेको हो। ब्राजिललाई च्याम्पियन बन्न बराबरी नतिजा पर्याप्त भए पनि ब्राजिल सफल हुन सकेन।
१९५४ मा भएको पाँचौँ विश्वकपमा हंगेरीको उत्कृष्ट टिमलाई पराजित गर्दै तत्कालीन पश्चिम जर्मनी पहिलोपटक च्याम्पियन बन्यो। फेरेन्ज पुस्कासप्रेरित हंगेरीयासँग समूह चरणमा ८-३ को फराकिलो अन्तरले पराजित भए पनि फाइनलमा त्यसको बदला लिँदै जर्मनी ३-२ ले खेल जित्दै उपाधि जित्न सफल भयो।
युवा खेलाडी पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा अहिलेको सर्वाधिक सफल राष्ट्र मानिएको ब्राजिलले पहिलोपटक विश्वकपको उपाधि जित्यो। १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाएका थिए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका थिए। यसै विश्वकपमा फ्रान्सका जस्ट फन्टेनले एकै विश्वकपमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बनाए। जुन हालसम्म कसैले तोड्न सकेका छैनन्।
स्वीडेनमा भएको यस विश्वकपमा ब्राजिलले आयोजक राष्ट्रलाई ५-२ ले पराजित गरेको थियो।
त्यसको चार वर्षपछि दक्षिण अमेरिकी महादेश चिलिमा भएको सातौँ विश्वकप पनि ब्राजिलले नै जित्यो र उरुग्वे र इटलीसँग दुई पटक विश्वकप जित्ने कीर्तिमान बराबरी गर्यो भने लगातातर दुई पटक विश्वकप जित्ने दोस्रो राष्ट्र बन्यो। दोस्रो पटक फाइनल खेले पनि चेकोस्लोभाकिया ब्राजिलसँग ३-१ ले निराश भयो।
घरेलु भूमिमा भएको सन् १९६६ को आठौँ विश्वकप जित्दै इंगल्यान्ड नयाँ विश्व च्याम्पियन बन्यो। जिओफ हस्टको ह्याट्रिक मद्दतमा इंगल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाइ ४-२ ले पराजित गर्यो। हस्ट फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने। जुन कीर्तिमान अहिलेसम्म कायमै छ। यसै विश्वकपमा विश्वकपको ट्रफी चोरी भएको थियो। जसलाई सात दिनपछि एउटा कुकुरले पत्ता लगाएको थियो।
विश्वकपको इतिहासमै उत्कृष्ट टिमको रूपमा परिचित ब्राजिलले १९७० को नवौँ विश्वकप जित्दै तीन पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो र जुल्स रिमेट ट्रफी सधैका लागि आफ्नो बनायो।
सन् १९७४ को दसौँ विश्वकपमा फ्रेन्ज वेकेनवायरको नेतृत्वमा रहेको पश्चिम जर्मनी दोस्रो पटक विश्व च्याम्पियन बन्यो।
सन् १९७८ मा घरेलु भूमिमा भएको ११औँ विश्वकप जित्दै अर्जेन्टिना पहिलोपटक विश्व च्याम्पियन बन्यो। अर्जेन्टिनाका कप्तान मारियो केम्पस एकै विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल प्राउने पहिलो खेलाडी बने।
सन् १९८२ मा स्पेनमा भएको १२औँ विश्वकप जित्दै इटलीले सर्वाधिक तीन पटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमान बराबरी गर्यो।
म्याराडोनाको उदय भएको १९८६ को १३औँ विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाइ हराउँदै दास्रो पटक विश्वकप जित्यो। उक्त विश्वकपको क्वटरफाइनलमा म्याराडोनाले इंगल्यान्डविरुद्ध गरेको गोल निकै चर्चित रह्यो। पहिलो गोल उनले हालते गरेका थिए जसलाई रेफ्रीले गोलको मान्यता दिएका थिए र त्यो पछि 'ह्याण्ड अफ गड'को रूपमा परिचित बन्यो। अर्को म्याराडोनाले इंगल्याण्ड पाँच रक्षक र गोलरक्षकलाई छक्काउँदै गरेको उत्कृष्ट गोल थियो। जसलाई शताब्दीकै उत्कृष्ट गोलको उपमा दिइएको छ।
त्यसको चार वर्षपछि पनि म्याराडोनाले अर्जैन्टिनालाई फाइनलमा पुर्याएका थिए। तर पश्चिम जर्मनीसँग पराजित भयो। सन् १९९० को १४औ विश्वकप जितेसँगै पश्चिम जर्मनी पनि तीन पटक विश्वकप जित्ने तेस्रो राष्ट्र बन्यो।
इटालियन स्टार रोबर्टो बाजियोले १९९४ को १५औँ विश्वकपको फाइनलमा ब्राजिलविरुद्ध पेनाल्टी मिस गर्दा इटली चार पटक विश्वकप जित्नबाट चुक्यो। उता फाइनलमा भाग्यमानी बनेको ब्राजिल चार पटक विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बन्यो। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका बाजियो भने फाइनलमा चुके।
१९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा डिफेन्डिङ च्याम्पियन ब्राजिललाई पराजित गर्दै फ्रान्स पहिलो पटक विश्व च्याम्पियन बन्यो भने समग्रमा विश्व विजेता बन्ने सातौँ राष्ट्र बन्यो फाइनलमा जिनेदिन जिदानको उत्कृष्ट दुई हेड गोलको मद्दतले फ्रान्सले ब्राजिललाई ३-० ले पराजित गरेको थियो। यसै विश्वकपबाट सहभागी राष्टको सङ्ख्या बढाएर ३२ बनाइएको थियो।
लगातार तीन पटक फाइनलमा पुगेको ब्राजिलले सन् २००२ मा पहिलो पटक एसियामा भएको १७औँ विश्वकप जित्दै पाँच पटक विश्व च्याम्पियन बन्ने कीर्तिमान बनायो। जुन हालसम्म कायम छ।
जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई २-० ले पराजित गरेको थियो। उत्कृष्ट प्रदर्शन गरेको आयोजक दक्षिण कोरिया तेस्रो हुँदा इतिहासमै पहिलोपटक जर्मनीका गोलरक्षक ओलीभर काहान बेष्ट प्लेयर घोषित भए।
सन् २००६ मा जर्मनीमा भएको १८औँ विश्वकपको फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र इटली भिडेका थिए। फ्रान्स दोस्रो पटक विश्वकप जित्नबाट चुक्दा इटलीले चौथो पटक विश्वकप जित्यो।
चौथो पटक विश्व च्याम्पियन बन्ने क्रममा इटलीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-३ ले हरायो। नियमित समयको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा जिदानले इटलीका मार्को माटेराजिलाई टाउकोले छातीमा प्रहार गरेपछि रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए।
यसै विश्वकपबाट बेष्ट योङ प्लेयरको अवार्ड पनि प्रदान गर्न थालियो। आयोजक जर्मनीका लुकास पोडोल्स्की यो अवार्ड पाउने पहिलो भाग्यशाली खेलाडी बने।
चार वर्षपछि सन् २०१० मा पहिलोपटक अफ्रिकी राष्ट्रमा भएको विश्वकपले नयाँ विश्व च्याम्पियन पायो। दक्षिण अफ्रिकामा भएको १९औँ विश्वकपको उपाधि युरोपियन राष्ट्र स्पेनले जित्यो। जोहानेसवर्गको सकर सिटी स्टेडियममा भएको फाइनलको अतिरिक्त समयमा स्पेनले नेदरल्यान्डलाई १-० ले पराजित गर्दा आन्द्रे इनेष्टाले निर्णायक गोल गरे।
स्पेन नयाँ च्याम्पियन बन्दा नेदरल्यान्ड भने तेस्रो पटक फाइनलमा पराजित हुँदै फेरि एक पटक अभागी साबित भयो। नेदरल्यन्ड यसअघि पनि सन् १९७४ र १९७८ को विश्वकप फाइनलमा पराजित भएको थियो।
फुटबलको पर्यावाची ब्राजिलमा भएको २०औँ संस्करणको विश्वकप युरोपियन राष्ट्र जर्मनीले जित्यो। सेमिफाइनलमा आयोजक ब्राजिललाई हराएको जर्मनीले फाइनलमा ब्राजिलको छिमेकी तथा लियोनल मेसीको अर्जेन्टिनालाई अतिरिक्त मसयमा १-० ले हरायो। जर्मनीलाई चौथो पटक विश्व च्याम्पियन बनाउन मारियो गोट्जेले निर्णायक गोल गरे। योसँगै जर्मनीले इटलीसँगै ४ पटक विश्वकप उपाधि जित्यो।
कूल ३२ राष्ट्रले एउटा ट्रफीका लागि प्रतिस्पर्धा गर्ने विपश्वकप पहिलो पटक रसियामा हुँदैछ र सारा विश्वको ध्यान अहिले त्यतैतिर छ।
जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुने विश्वकपमा लागि अहिले छनोट भएका ३२ वटै टोली तयारीमा व्यस्त छ।
जर्मनीका मिरोस्ला क्लोज विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। सन् २००२ देखि २०१४ सम्म ४ पटक विश्वकप खेलेका उनले १६ गोल गरेका थिए। सन् २००६ मा घरेलु मैदानमा ५ गोल गर्दै उनले गोल्डेन बुट समेत जितेका थिए।