काठमाडौं : यस साता फ्राइडे रिलिजमा तीन नेपाली फिल्म रहेका छन्। 'हरि', 'अमेरिका बोइज' र 'बेबी आइ लव यू' प्रदर्शनमा आएका छन्।
सस्पेन्स कमेडी विधामा बनेको 'हरि'लाई प्रतीक गुरुङले निर्देशन गरेका हुन्। सफल केसीको कथामा तयार भएको यस फिल्ममा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको मुख्य अभिनय रहेको छ। शुभलाभ फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्मातामा योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा रहेका छन्।
त्यस्तै 'अमेरिका बोइज' डार्क कमेडी जनरामा बनेको फिल्म हो।
प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्ममा अर्पण थापा, अभय बराल र आशिष प्रसाईंको मुख्य अभिनय रहेको छ। प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले फिल्मलाई निर्माण गरेका हुन्। फिल्ममा आलोक शुक्लाको छायाँकन, विवेक पाण्डेको कथा, निमेष श्रेष्ठको सम्पादन, सुनिल क्षत्रीको कोरियोग्राफी र सम्राट बस्नेतको द्वन्द्व रहेको छ।
जनक पाण्डे निर्देशित 'बेबी आइ लव यू' मा सन्तोष खड्की र पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, बिमला गिरी लगायतको अभिनय रहेको छ। शिव न्यौपाने निर्मित फिल्मका सह निर्माता सिर्जना परियार र दुर्गा पाण्डे हुन्।
बलिउड फिल्म 'वीरे दी वेइडिङ' र 'भावेश जोशी' प्रदर्शनमा आएका छन्। शसांक घोस निर्देशित 'वीरे दी वेइडिङ'मा अभिनेत्री करिना कपुर, सोनम कपुर, स्वारा भास्कर र शिख तल्सैनाको अभिनय छ। विक्रमदीत्य निर्देशित भावेश जोशीमा हर्षवर्धन कपुर र प्रियांशुको अभिनय छ। यस साता कुनै हलिउड फिल्म प्रदर्शनमा छैनन्।