PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई उपप्रधानमन्त्री थपिँदा दुई घण्टा ढिलो शपथ, सभामुख र राष्ट्रिय सभा अध्यक्षको बिजोग



बीपी साह

दुई उपप्रधानमन्त्री थपिँदा दुई घण्टा ढिलो शपथ, सभामुख र राष्ट्रिय सभा अध्यक्षको बिजोग

काठमाडौं : उपप्रधानमन्त्री नराख्ने बताउँदै आए पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा शुक्रबार दुई जना उपप्रधानमन्त्री भएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अडानपछि प्रधानमन्त्री ओलीले दुई उपप्रधानमन्त्री राखेका हुन्।

यादवलाई उपप्रधान मन्त्री दिने विषयमा छलफल भइरहँदा शपथ ग्रहण दुई घण्टा ढिलो भयो। शुक्रबार साँझ पाँच बजेका लागि राखिएको शपथ ग्रहण सात बजे बल्ल भयो।

वरियता  क्रममा प्रधानमन्त्री ओलीपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल रहनेछन् भने त्यसपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव रहनेछन्। यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा यादव उपप्रधानमन्त्री भइसकेकोले हैसियत घटाएर मन्त्री बन्ने पक्षमा थिएनन्।

यद्यपि राष्ट्रपति कार्यालयले भने दिउँसै उपेन्द्र यादवलाई मन्त्री मात्र भनेर विज्ञप्ति जारी गरिसकेको थियो। 


दुई जना उपप्रधानमन्त्रीको शपथपछि फोरमका सचिव मोहम्मत इस्तियाक राईले शहरी विकास र नेकपाका गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीको शपथ लिए। बाँस्कोटा यसअघि सञ्चार राज्यमन्त्री थिए।

दिउँसो राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा बाँस्कोटाको नाम थिएन। 

सभामुख र राष्ट्रिय सभा अध्यक्षको बिजोग

राष्ट्रपति कार्यालय शितल निवास राखिएको शपथ ग्रहण कार्यक्रममा सभामुख र राष्ट्रिय सभा अध्यक्षको विजोग भएको छ। पाँच बजेका लागि राखिएको शपथ ग्रहण कार्यक्रममा उनीहरु त्यसअघि नै पुगेर मञ्चमा आसन ग्रहण गरिसकेका थिए। 

तर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवबीच उपप्रधानमन्त्रीको विषयमा छलफल भइरहेको थियो।

मञ्चमा आसन ग्रहण गरेका सभामुख महराले मन्त्रीहरुलाई बोलाएर गफ गर्दै थिए। एक घण्टासम्म मञ्चमा बसेका उनीहरु करिब ६ बजेपछि सभामुख महरा र राष्ट्रिय सभा अध्यक्ष दुबै बाहिरिएका थिए।

करिब तीन घटनाभन्दा बढीको छलफलपश्चात् प्रधानमन्त्री ओली उपप्रधानमन्त्री राख्न सहमत भएका थिए। त्यसपछि प्रचण्ड र यादव करिब साढे ६ बजे शितल निवास पुगेका थिए। लगतै प्रधानमन्त्री ओली पनि पुगे।

तर ओली राष्ट्रपति भवनको विशिष्ट कक्षमा बसे। र, त्यहीँ पुनः प्रचण्डलाई बोलाएर छलफल गरे। प्रधानमन्त्री कार्यालय बालुवाटारपछि पुनः शीतल निवासमा ओली र प्रचण्डबीच छलफल भएको थियो।
 
त्यसपछि सातबजे शपथ ग्रहण भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell