बनारसः कुनै बेला नेपालमा दुई÷दुई वटा सशस्त्र क्रान्तिको रणनीति बनाउन व्यस्त हुन्थ्यो वाराणसीको दूधविनायक। दूधविनायक मिनी–नेपालका नामले चिनिन्थ्यो। नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नहुँदा पनि दूधविनायक अर्थात् मिनी–नेपालमा पूर्ण लोकतन्त्र र गणतन्त्र थियो। सात सालको र २६ देखि ३२ सालसम्मको गरी दुई सशस्त्र संघर्षका धेरैजसो तानाबाना दूधविनायकमै बुनिए।
त्यही दूधविनायकलाई अहिले आफ्नो प्राचीन नेपाली परिचय र निरन्तरता बचाउन धौ–धौ परिरहेको छ।
‘बेला यस्तो पनि थियो– दश जना हिँड्दैछन् दूधविनायकमा भने; आठ जना नेपाली हुन्थे, हिजोआज १० मा एक नेपाली पाउन मुस्किल छ।’
बनारसमै जन्मिएका नेपाली भाषी हरिश्चन्द्र गौतमको भनाइ।
दूधविनायक क्षेत्रमा दुई नेपाली धर्मशाला छन्– मंगलागौरी नेपाली धर्मशाला र जगदम्बा धर्मशाला। दुबै धर्मशाला आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका छन्।
‘महाकवि देवकोटा चुरोटको धुवाँ उडाउँदै दूध विनायकको कुनै गल्लीबाट फुत्त निस्कन्थे, उनलाई नेपाली कांग्रेसको मुखपत्र ‘युगवाणी’ सम्पादन गर्न सात सालअघि पार्टीले बनारस लगेको थियो’, बनारस हिन्दु युनिभर्सिटीमा उच्च शिक्षा लिएकी शान्ता घिमिरेले भनिन्, ‘कांग्रेसका बिपी, मातृका, किसुनजी, सुवर्ण, सूर्यप्रसाद उपाध्याय, शिवहरि शर्मा र गिरिजाबाबुजस्ता नेताहरू यहीँ भेटिनु हुन्थ्यो।’
शिक्षासेवी घिमिरेले थपिन्, ‘कांग्रेसका मात्र होइन– पुष्पलाल, मनमोहन, तुलसीलाल, बलराम उपाध्याय, महेश उपाध्याय, हरिहर उपाध्याय र डिपी अधिकारी लगायतका मूर्धन्य वामपन्थी नेताहरू पनि यतै बैठक गरिरहेका हुन्थे।’
भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलले २००९ देखि २०१४ सम्म बनारसमै उच्च शिक्षा ग्रहण गरे। काशीमै आफ्ना सहपाठी डाक्टर तारानाथ शर्मा, कोशराज रेग्मी र चूडामणि रेग्मीलगायतका विद्वान्सित मिलेर त्यहीँबाट नेपाली भाषामा झर्रोवादी आन्दोलन सञ्चालन गरे।
‘उस बेलाको बनारस अर्कै थियो, नेपालीका लागि त नेपालभन्दा राम्रो’, उनले सुनाए, ‘कचौडी गली वा ठठेरी गलीबाट दूधविनायकतिर छिरेपछि नेपाली भाषीमात्र भेटिन्थे। कसैको घरझगडा भयो भने पनि नेपालीलाई मिलाउन बोलाउँथे।’
बनारसबाटै संस्कृतमा न्याय शास्त्रका विद्वान् बनेका धरान निवासी पुरुषोत्तम भट्टराईका अनुसार बिपी, मातृका, किसुनजी, पुष्पलाल र मनमोहन जस्ता सङ्घर्षशील र निष्ठावान् राजनेतालाई बनारसले राम्ररी चिन्न पायो।
भट्टराईले थपे, ‘पण्डितराज सोमनाथ सिग्द्याल, पण्डित पद्मप्रसाद भट्टराई, चेतनाथ पोखरेल, कुलचन्द्र गौतम, ईश्वर बराल, छविलाल पोखरेल र डिल्लीराम तिमसिनाजस्ता उद्भट प्रतिभाको साधना स्थल पनि बनारस नै भयो।’
‘संस्कृतमा सबैभन्दा कठिन विषय हो न्याय, यसको भाषा संस्कृत नै हो तर चलनचल्तीको संस्कृत बुझ्ने र पढ्नेले न्यायको संस्कृतको अर्थ लाउन सक्तैनन्’, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रेक्टर पुरुषोत्तमले थपे, ‘न्यायमा अहिलेसम्म पद्मप्रसाद गुरुजत्तिको विद्वान् पाइएको छैन। बनारसमा पद्मप्रसादले परीक्षा दिएपछि ६ प्राध्यापक मिलेर उनको उत्तरपुस्तिका परीक्षण गर्थे। कहिलेकाहिँ परीक्षार्थी पद्मप्रसादको न्यायको भाषा ती प्राध्यापक पनि बुझ्न सक्तैनथे। अनि पद्मप्रसादलाई नै बोलाएर तिमीले यो के लेखेको भनेर सोध्थे र बुझ्थे।’
पद्मप्रसादले आफ्नो जीवनको लामो समय बनारसमै प्राध्यापन गरेर बिताए। महेन्द्रले आफू राजा भएपछि गुरु पद्मप्रसादलाई नेपाल बोलाए।
भनिन्छ, पद्मप्रसादको दर्शन गरेर मात्र महेन्द्र खाना खान्थे रे।
भट्टराईको भनाइ थियो, ‘नेपालका महान् हस्तीहरूले बनारसमा आदर्शवान् राजनीति र उच्चतम विद्वत्ताको छाप छाडे। त्यसैले नेपालीलाई अहिले पनि त्यहाँ आदर र सम्मान गरिन्छ।’
भाषाशास्त्री बालकृष्णले बनारसका एक पण्डाले दूधविनायककै नेपालीको मतले वडाध्यक्षको चुनाव जित्ने गरेको सुनाए।
राजनीति, शिक्षा र मृत्युको केन्द्र बनारस
शान्ताले भनेअनुसार दुम्जाका कोइराला खलकमध्येका द्वारे बुढा नामले प्रतिष्ठित पूर्णानन्द उपाध्याय दुई नाति लिएर काशीवास गए। काशाीमा एउटा नातिलाई संस्कृत र अर्कालाई अङ्ग्रेजी विषयमा पारङ्गत बनाउने घोषणा द्वारे बुढाले दुम्जामै गरेका थिए।आफ्नी बालविधवा छोरीपट्टिका नातिलाई द्वारे बुढाले संस्कृतमा आचार्य पढाए, उनी कृष्णप्रसाद ढुङ्गाना ‘आचार्य’ थिए। उनै कृष्णप्रसादका छोरा शिवहरि कांग्रेसका संस्थापकमध्ये एक थिए। उनले जीवनभर कांग्रेसमै योगदान गरे। शिवहरिको परिवारले कांग्रेसबाट केही पाएनन्। त्याग र संघर्ष गरेको परिवार भन्ने विशेषण भने जानकारहरूले दिइरहे।
छोरापट्टिका नाति धरणिधर थिए। द्वारे बुढाका छोरा अवन्तीनाथका छोरा धरणिधर।
‘जागजाग अब जाग न जाग, लाग उन्नतिविषे अब लाग, भो भयो अति सुत्यौ अब जाग’–जस्ता क्रान्तिकारी र चेतनामूलक कविता लेखेर धरणिधरले सात सालको क्रान्तिमा योगदान गरे।
चालीसको दशकपूर्व नेपालीका लागि बनारस राजनीति, शिक्षा र मृत्यु गरी तीन कुराको केन्द्र बन्यो।
प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा उद्यत नेता र कार्यकर्ताका लागि २००३ साल देखिकै भरपर्दो आश्रय यही शहर भयो। २०३७ सालमा तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रहका सन्दर्भमा आममाफी दिएपछि प्रवासमा रहेका हजारौँ नेता–कार्यकर्ताले बनारस छाडे। यसरी २००३ देखि २०३७ सम्म विद्रोही राजनीतिको केन्द्र बनिरह्यो बनारस।
काशीमा मरे मुक्ति पाइन्छ भन्ने शास्त्रीय मान्यताले गर्दा कतिपय नेपाली जीवनको उत्तराद्र्ध बिताउन बनारस जान्थे र त्यहीँ मृत्युवरण गर्थे।
त्यस्ता वृद्धवृद्धाको हेरचाह गर्न प्रायः उनका नातिहरू जान्थे।
वृद्धवृद्धा मृत्यु कुरेर बस्थे नातिहरू अध्ययन गर्थे।
मृत्यु र शिक्षाको केन्द्र यसरी बन्यो
चालीसको दशकपछि नेपालमा पनि वृद्धाश्रम खोल्ने लहर चल्यो। जनमत संग्रहसँगै शैक्षिक र राजनीतिक चेतना देशमा झ्याँगिदै गयो। संस्कृत, अंग्रेजी र सरकारी विद्यालय खुल्ने क्रम नेपालमै तीवं्र भयो। पहिलेझैँ वृद्धवृद्धा र नातिहरू काशी जाने क्रम पातलिँदै गयो।भाषाशास्त्री बालकृष्णका अनुसार तीसको दशकपछि मौलाएको डनगिरी र गुण्डागर्दीका कारण पनि नेपाली त्यहाँ टिक्न सक्ने वातावरण भएन। नेपालमा हुनेखाने धेरैको घर थियो बनारसमा; ४० को दशक लागेपछि कतिले घरै छाडेर हिँडे, कोही बेचेर नेपालै फर्किए।
त्यहाँका गुण्डाले नेपाली र मराठीलाई तारो बनाएको पोखरेलको अनुभव छ।
शान्ताका शब्दमा प्रेसमा छपाइका कामले पनि नेपालीलाई बनारसले आफूसित जोडेको थियो। सर्वहितैषी एन्ड कम्पनीमा नेपाली भाषामा कर्मकाण्डका सबै पुस्तक, रामायण, महाभारत, गीता, भागवत लगायतका पुराण र अन्य साहित्य पनि छापिन्थे। युवाकवि मोतीरामले नेपाली भाषामा पहिलो पत्रकारिता यहीँबाट सुरु गरे। यसबाहेक कसैले पुस्तक छपाउनु पर्यो भने सहुलियत र गुणस्तर दुबैका लागि बनारस नै उपयुक्त थियो।
अब त नेपालमै शहरका कुनाकुनामा आधुनिक छापाखाना खुलिसकेका छन्। यो क्रम पनि २०३६ पछि नै तीव्र भएको हो। यसरी छपाइका कामले बनारस पुग्ने क्रम मन्द हुँदै गयो।
विद्याधर्म प्रचारिणी नेपाली समिति मंगलागौरीले यस क्षेत्रमा दुई धर्मशाला सञ्चालन गरेको छ।
मंगलागौरी धर्मशालाका भवन रक्षक रमेश अधिकारीले यस धर्मशालामा चार तला र १८ कोठा रहेको जानकारी दिए।
एक कोठाको एक दिनको १ सय २५ रुपैयाँ लिने गरिन्छ। यस धर्मशालामा आउने प्रायः नेपालकै तीर्थयात्रु हुन्छन्।
‘गुणरत्न माला’ र ‘नम्र निवेदन’ नामका दुई चर्चित कविता सङ्ग्रहका लेखक पण्डित जगन्नाथ गुरागाईंले चन्दा संकलन गरेर मंगलागौरीको धर्मशाला बनाएका थिए।
जगदम्बा धर्मशालाको निर्माणमा पनि पण्डित जगन्नाथको संयोजन र समन्वय महत्त्वपूर्ण रह्यो। उनलाई अर्का बनारसवासी नेपाली कृष्णप्रसाद ढुङ्गानाले सहयोग गरे। यी कृष्णप्रसाद द्वारे बुढाका नाति होइनन्, अर्कै ढुङ्गाना हुन्।
जगन्नाथ र कृष्णप्रसाद ठाउँठाउँ पुगेर दानदातव्य संकलन गरे अनि दुबै धर्मशालाको निर्माण गरे। जगदम्बा धर्मशालाको मुख्य भवनमा १४ कोठा छन्।
जगदम्बाका कोषाध्यक्ष सागर रेग्मीका अनुसार मदन पुरस्कार गुठीकी संस्थापक रानी जगदम्बाको महत्त्वपूर्ण आर्थिक सहयोगले निर्माण गरिएको हुँदा उनकै नाममा धर्मशालाको नामकरण गरिएको थियो। जगदम्बा धर्मशाला २०१७ मा बनाइएको हो।
जगदम्बा धर्मशालाका नाममा ४ वटा भवन छन्। जसमध्ये ३ वटालाई धर्मशाला बनाइएको छ। धर्मशालाको मुख्य भवनबाहेक जगन्नाथ भवन र राम मन्दिर धर्मशाला (कमला भवन) नजिकै छन्। जगन्नाथ भवन यात्रीका लागि प्रयोग गरिन्छ। कमला भवनमा धर्मशालाको समितिका पदाधिकारी र कर्मचारी बस्छन्।
जगदम्बाकै धर्र्मशालाका रूपमा प्रयोग भइरहेको अर्को कृष्ण भवन पनि छ। पहिले यही भवनमा नेपाली संस्कृत महाविद्यालय थियो।
‘महाविद्यालय अहिले अन्यत्र सरेको छ र कृष्ण भवनलाई पनि धर्मशालाकै रूपमा प्रयोग गरिएको छ’, कोषाध्यक्ष रेग्मीले बताए, ‘कृष्ण भवनमा १८ कोठा र २ हल छन्।’
धर्मशालाकै एक पदाधिकारी हरिश्चन्द्रले एक वर्षयता धर्मशालाले स्थानीय विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षाको सञ्चालन गरिरहेको जानकारी दिए।
‘अक्षर–पाठशाला’ नाम दिइएको यस कक्षामा कक्षा १ देखि १० सम्मका विद्यार्थी लाभान्वित भइरहेका छन्।
कुल एक सय पचास विद्यार्थीले अक्षर–पाठशालामा नाम दर्ता गराएका छन् र एक सय जति नियमित छन्।
‘यहीँका स्थानीयलाई सेवा दिएपछि यहाँका कसैले हेप्न सक्ता रहेनछन्, बरु आदर गर्दा रहेछन्’, गौतमको अनुभव, ‘अक्षर–पाठशालाका लागि एक पुस्तकालय पनि सञ्चालनमा ल्याएका छौँ।’
दुबै धर्मशालाको मुख्य आयस्रोत यात्रुबाट उठाइएको शुल्क नै हो। तर शुल्क कम भएकाले धर्मशालाको मरम्मत, सम्भार र सञ्चालन गर्न गाह्रो परेको सञ्चालकको अनुभव छ।मिति’–का अन्तर्गत र मातहतमा छन् दुबै धर्मशाला, हामी त रेखदेख गर्न खटिएका मात्र हौँ’, जगदम्बा धर्मशालाका गौतमले भने, ‘उहिले त यहाँ आउने नेपाली ३ दिनसम्म निःशुल्क बस्न पाउँथे। पछि धर्मशाला चलाउन अप्ठ्यारो पर्दै गयो र हामीले न्यूनतम शुल्क तोकेका हौँ।’
नेपाल सरकार र नेपालका दानशील समाजसेवीहरूको आँखा मंगलागौरी र जगदम्बा धर्मशालामा परे हुन्थ्यो भन्ने हरिश्चन्द्रको चाहना थियो।