
काठमाडौं : विभागी टोलि एपीएफ र प्रदेश ७ ले प्रधानमन्त्री कप वान डे क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
शनिवार भएको खेलमा एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। २ खेलबाट ४ अंक जोडेको एपीएफ समूह ए को शीर्ष स्थानमा छ। २ खेल नै खेलेको अर्को विभगीय टोली आर्मी दोस्रो स्थानमा छ। ३-३ खेल खेलेको प्रदेश ४ र प्रदेश २ तेस्रो र चौथो स्थानमा छन्। समूहको ४ वटै खेल खेलिसकेको प्रदेश १ भने एउटा खेलमा मात्र विजयी हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै प्रदेश ७ ले लो स्कोरिङ खेलमा प्रदेश ३ लाई २ विकेटले हरायो। समूह बी मा सबै ४ खेल खेलिसकेको प्रदेश ७ ले २ जित, १ हारको नतिजा निकाल्दै ५ अंक जोडेको। एक खेलमा भने प्रदेश ७ ले अंङ्क बाँडेको थियो।
प्रदेश ७ ले सेमिफाइनलमा स्थान बनाउन भने अब समूहका अन्य खेलको नतिजा कुर्नुपर्नेछ। पराजित प्रदेश ३ को भने झिनो सम्भावना बाँकी छ।
कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३३.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो। कप्तान जितेन्द्र सिंह ठकुरीले ४०, सोनु तामाङले २९ तथा सन्जय बस्नेतले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंङ्क समेत छुन सकेनन। प्रदेश ७ का शेर मल्लले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर ४ विकेट लिए। यस्तै विकास आग्रीले ३ विकेट लिए।
जवाफमा ११७ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ७ लाई प्रदेश ३ ले कसिलो बलिङ गर्दै चुनौती दिएपनि प्रदेश ७ ले ३९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्रदेश ७ का लागि सन्जु दमाइले २५, विजय रानाले २४ तथा अरुण ऐरीले २१ रनको योगदान गरे। बलिङतर्फ प्रदेश ३ का कप्तान जितेन्द्र ठकुरी र सागर ढकालले २-२ विकेट लिए।
यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश १ विरुद्ध १२८ रनको लक्ष्य सहजै पुरा गर्दै ९ विकेटको जित हासिल गर्यो। एपीएफका लागि ओपनर अनिल शाहले नटआउट ६२ रन बनाए। ४८ बल खेलेका शाहले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै पृथु बास्कोटा ३२ रनमा नटआउ६ रहे भने प्रदिप ऐरीले २३ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। प्रदेश १ को लागि सन्दीप ढुंगानाले २९, मिनाश थापाले २७ तथा कप्तान पुष्प थापाले २० रन बनाए।
एपीएफलका करण केसीले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। उनले २ मेडन समेत राखे। यस्तै भुवन कार्की, बसन्त रेग्मी र अमरसिंह राउटेलाले २-२ विकेट लिए।