PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

२२ करोड लागतमा बन्यो बायो ग्यास बोटलिङ प्लान्ट



चन्द्रकान्त खनाल

२२ करोड लागतमा बन्यो बायो ग्यास बोटलिङ प्लान्ट

रुपन्देहीः ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले मुलुकको समृद्धिका लागि ऊर्जा र सिँचाइमा लगानी बढाइने बताएका छन्। रामग्रामस्थित सुक्रौलीमा निर्माण भएको बायो ग्यास बोटलिङ आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले त्यसको बढीभन्दा बढी उपयोग गरिने बताए।

मन्त्री पुनले सरकारले अब ऊर्जा र सिँचाइको दशक मनाई विद्युत् उत्पादनमा आत्मनिर्भर बनाउने बताए। मन्त्री पुनले वर्षिनी व्यापार घाटा बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उत्पादन भूमिमा सिँचाइको व्यवस्था गरी उत्पादन बढाउने बताए।

प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले पाँचवटा शहरमा मेगासिटी बनाउने योजना बनाएको बताउँदै ती सबै सहरमा बायो ग्यास प्लान्ट स्थापना गरिने बताए। 

बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको चार करोड ७७ लाख सहयोगसहित २२ करोड लागतमा प्लान्ट स्थापना गरिएको हो। उक्त प्लान्टबाट दैनिक १५० सिलिन्डिर ग्यास उत्पादन हुनेछ। स्वदेशी कच्चा पदार्थ गोबर, कुखुराको सुली, किचनबाट निस्कने फोहर, हरियो पातहरू, सुगर मिलबाट निस्केको कच्चा पदार्थ प्रयोग गरी इन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले जर्मनी प्रविधिको नेपालमै पहिलोपटक बायो ग्याँसको व्यावसायिक उत्पादन सुरु गरेको संञ्चालक सन्दीप कुमार अग्रवालले बताए। ग्यास उत्पादन गर्न उद्योगलाई दैनिक ३० देखि ४० टन कच्चा पदार्थ आवश्यक पर्ने उनको भनाई छ।

ग्यासको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकेको उद्योगले घरायसी प्रयोजनमा समेत ग्यास विक्री सुरु गरेको छ। यसरी प्रति सिलिन्डरको मूल्य ग्राहकले ९ सय तिर्नु पर्नेछ। एलपी ग्यासको तुलनामा सुरक्षित, बढी तापक्रप भएको, सस्तो र सहज हुने सञ्चालक अग्रवालको भनाई छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सबै नगरपालिकामा बायो ग्यास केन्द्र स्थापनाको सोच रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell