PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'महँगा' होटलमा 'गरीब' प्रदेश सरकारको कार्यक्रम, सरकारी सभाहल भने रित्तै



पी बी खड्का

'महँगा' होटलमा 'गरीब' प्रदेश सरकारको कार्यक्रम, सरकारी सभाहल भने रित्तै

सुर्खेत :  ‘प्रदेश गरिब छ, ५२ प्रतिशत गरीवीलाई शून्यमा झारेर अब समृद्ध प्रदेश बनाउँछौँ’।' 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पटक पटक बोल्ने वाक्य हो यो। प्रदेशको राजधानीमा हुने औपचारिक या अनौपचारिक कार्यक्रममा उनी यो वाक्य बारम्बार दोहोर्‍याउँछन्। 

अझ यतिमात्र हैन ‘प्रदेश गरीब छ, थोरै भन्दा थोरै खर्चमा धेरै र फाइदाजनक काम प्रदेश सरकारले गर्छ,’ यस्तै- यस्तै भाषण मुख्यमन्त्री शाहीले अधिकांश कार्यक्रममा छुटाउँदैनन्। 

पछिल्लो समय प्रदेश मुख्यमन्त्रीको गरीबीको भाषण एकातिर हुन्छ भने काम अर्कातिर। कर्णालीमा ५२ प्रतिशत गरीब रहँदा प्रदेश सरकार भने नाम चलेका तारे होटल धाउन व्यस्त छ। 

प्रदेश सरकारका नाममा हुने जति पनि कार्यक्रम साना तिना होटल र सरकारी सभा हल छाडेर तीन तारे होटलमा हुन थालेका छन्। ठूला कार्यक्रममात्र होइन, पत्रकार सम्मेलन नै गर्न परे करिब ४५ मिनेटको बाटो हिँड्नुपर्ने तारे होटलमा पुगेरै आयोजना गर्छन्। 

अहिले प्रदेश सरकार कानून निर्माण गर्ने भन्दै विषयगत मन्त्रालयले दिनदिनै तारे होटलमा कार्यक्रम आयोजना गरिरहेको छ- त्यो पनि बिहानको ब्रेक फास्ट, लन्च र दिउँसोको हाइटी सहितको। 
 

मन्त्रालयको प्रेस मिटसमेत तारे होटलमा

प्रदेशको राजधानीमा नाम चलेको सिद्धार्थ शनि रिर्सोटमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही महिनाअघि पत्रकार सम्मेलन गर्‍यो। त्यसमा १२–१५ जना पत्रकार सहभागी बने। १५ मिनेटको काम त्यो पनि मन्त्रालयको सभाकक्षमै अट्न सक्ने पत्रकार होटल नै निम्त्याइए।
त्यस्तै, अन्य दुई वटा कानून निर्माणका छलफल र अन्तर्क्रिया कार्यक्रम भयो, त्यो पनि लन्च सहितको। 

सोही होटलमा सामाजिक विकास मन्त्रालयले पनि कानून निर्माणका लागि छलफल भन्दै लन्च सहितको कार्यक्रम आयोजना गर्‍यो। 

त्यस्तै, केही दिनअघि मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत राजधानीको नाम चलेकै शुभ होटलमा कार्यक्रमको आयोजना गर्‍यो। त्यसमा ब्रेक फास्ट, लन्च सहित दिउँसोको हाइटी समेत व्यवस्था गर्‍यो। 

न्युनतम प्रतिव्यक्ति होटल खर्च 
ब्रेक फास्ट : रु ३५०
विहानको खाना : रु ३५०–४२० सम्म
दिउँसोको हाई–टी : रु ३५०
हल भाडा : रु १०–१५ हजार सम्म

२ दर्जन सरकारी सभाहल खाली

यता, मन्त्रालयकै सभाहल खाली गरेरै भए पनि तारे होटलमै कार्यक्रम हुने गरेको छ। कर्णालीका अधिकांश मन्त्रालयमा १५–२० जना अट्न सक्ने सभाहल छन् भने कृषि मन्त्रालयमा करिब ५० देखि ८० जनासम्म अट्न सक्ने क्षमताको हल छ। तर, प्रदेश सरकारले यी सभाहल छोडेर नाम चलेका होटलमा कार्यक्रम आयोजना गर्दै आएको छ। 

त्यस्तै, सुर्खेतमा अन्य क्षेत्रीय र जिल्ला स्तरका सरकारी सभाहल दुई दर्जन भन्दा बढी छ। करिब १५० देखि २०० सय जनासम्म अट्न सक्ने सरकारी सभाहल हुँदाहुँदै प्रदेश सरकार अनावश्यक पैसा खर्च गर्ने होडमा देखिन्छ। 
 

होटलको कार्यक्रमप्रति गुनासो  

प्रदेश सरकारले तारे होटलमा गर्ने कार्यक्रम प्रति सर्वसाधारण नागरिकले असन्तुष्ट पोख्दै आएका छन्। मध्य पश्चिम विश्वविद्यालयका प्राध्यापक कमल लम्सालले प्रदेश सरकारले तारे होटलमा कार्यक्रम आयोजना गर्नु सान्दर्भिक नभएको बताए। 

‘कतिपय मन्त्रालयकै सभाहल छ। त्यसमा पनि सय दुई सय जना अट्न सक्ने सरकारी सभा हलहरु छन्,’  उनले भने, ‘सरकारले खर्च जोगाउने हो भने सरकारी सभा हल र मन्त्रालयकै सभा हलमा कार्यक्रम गर्दा उचित हुन्थ्यो। यसरी त प्रदेशको समृद्धि भन्ने नारा, नारामै सीमित हुने देखिन्छ।’
 

सामान्य खर्च त भइहाल्छ : मन्त्री भण्डारी 

यता आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सामान्य खर्च आउने गरी होटलमा कार्यक्रम गरिएको बताए। ‘खर्च धेरै आउने गरेर कार्यक्रम गरेका छनौं,’ उनले भने, ‘न्युनतम खर्चमा गरेका छौँ। अन्यत्र गर्दा पनि सामान्य खर्च त भइहाल्छ।’

उनले सरकारको बचाउ गर्दै कार्यक्रम आयोजना गर्दा सामान्य खर्च स्वभाविक आउने भन्दै ठूलो खर्च नगरेको जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell