PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रम ओलीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलको मोडालिटी, ७ नाकासम्म पक्की सडकको प्रस्ताव



दिनेश खड्का

प्रम ओलीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलको मोडालिटी, ७ नाकासम्म पक्की सडकको प्रस्ताव

काठमाडौं : परराष्ट्र मन्त्रालयले असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण  गराउने तयारी गरिरहेको छ। सोही भ्रमणका क्रममा चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजनाको मोडालिटी टुङ्गो लगाउने तयारी भएको छ।

अहिले सरोकारवाला मन्त्रालयहरुसँग परराष्ट्र मन्त्रालय भ्रमणका एजेण्डाहरु तयार पारिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजना र थप सातवटा नाकासम्म पुग्ने पक्की सडक निर्माण प्राथमिकता राखेको छ।

भौतिक पूर्वाधार मन्त्रालयले प्रधानमन्त्रीको  चीन भ्रमणमा रेलमार्ग र सडकलार्इ प्राथमिकतामा राखेको वैदेशिक समन्वय महाशाखा प्रमुख केशव कुमार शर्माले जानकारी दिए। उनका अनुसार परारष्ट्र मन्त्रालयलार्इ  रेल र सडकको फाइल पठाइसकिएको छ। ‘विआरआर्इ, अनुदान, सफ्ट लोन  के गर्ने भन्ने टुङ्गो सम्भवत यही भ्रमणमा टुङ्गो लाग्छ,’ उनले भने।

मन्त्रालयले पहिलो प्राथमिकतामा केरुङ-काठमाडौं रेलमार्गलार्इ राखेको छ। चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा अहिले यो रेल परियोजनाको करिब दुर्इ साता अघिबाट पूर्वसम्भाव्यता अध्ययन भइरहेको छ।

आगामी भदौसम्म अध्ययन रिपोर्ट दिने गरी चिनियाँ प्राविधिकहरुले अध्ययन गरिरहेको रेल विभागले जनाएको छ। उक्त अध्ययन रिपोर्टले यो रेलमार्ग निर्माण गर्न सकिने वा नसकिने भनी रिपोर्ट दिनेछ।

यसअघि प्रधानमन्त्रीको चीन भ्रमणको चाँजोपाजो मिलाउन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले चीन भ्रमण गरिसकेका छन्। उक्त भ्रमणका क्रममा अनुदानमा उक्त रेल परियोजना बनाइदिन प्रस्तावसमेत गरेका थिए।

भौतिक पूर्वाधार मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्रीले चीनसँग अनुदानमा रेलमार्ग बनाइदिन प्रस्ताव गर्नेछन्। जसमा केही नेपालको पनि लगानी रहेनेछ। तर, लोनमा यो परियोजना भने बनाउन नहुने ती सहसचिवले बताए। 'हाम्रो २५ प्रतिशत बजेट एउटा प्रोजेक्टका लागि खर्च हुन्छ। यदि लोनमा यो प्रोजेक्ट बनाउने हो भने नेपाललै व्याजै तिर्न नसक्ने अवस्था आउन सक्छ, यस प्रति हामी सचेत छौं,’ उनले भने।

विकट भुगोल छिचोल्नुपर्ने भएकाले उक्त रेलमार्ग कठिन र महङ्गो हुनेसक्ने रेल विभागको अनुमान छ। समुन्द्र सतहबाट करिब ४ हजार पाँच सय मिटर उचाइमा रहेको केरुङ र करिब १ हजार पाच सय मिटर उचाइमा रहेको काठमाडौंका बीचमा रेलमार्ग निर्माण चुनौतिपूर्ण मानिएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा  लगानी प्रारुप कस्तो हुने वा कसले गर्ने भनी टुङगो लाग्ने रेल विभागका एक अधिकारीले बताएका छन्।


थप सातवटा नाकासम्म पुग्ने पक्की सडक, चीनसँग ९ वटा नाका

प्रधानमन्त्रीको यो भ्रमणका क्रममा चीन र नेपाल जोड्ने थप सातवटा नाकासम्म पुग्ने पक्की सडक निर्माण गर्ने  सम्बन्धमा सहमति गर्ने नेपालको तयारी छ। चीन र नेपालका बीचमा द्वीपक्षीय सहमति भएर काम अघि बढे दुर्इ नम्बर प्रदेश बाहेक अरु छ वटै प्रदेश चीनसँग जोडिने नाकाहरुमा पक्की सडक निर्माण हुनेछ।

सङ्खुवासभाको किमाथांका, मुस्ताङको कोरला, दोलखाको लाप्चे, हुम्लाको हिल्सा, दार्चुलाको तिंकर, गोरखाको लार्के, मुगुको नाग्चेलाग्नासम्म पुग्ने पक्की सडक निर्माणका लागि सहयोग माग्न लागिएको हो। अहिले यी सबै नाकासम्म पुग्नका लागि ट्रयाक खोलेर धुले सडक निर्माण गर्न काम धमाधम भैरहेको छ।

तातोपानी नाकासम्म पुग्ने सडकको पूनर्निर्माण र रसुवागढी पुग्ने सडकको स्तरोन्नतिका लागि समेत छलफल हुनेछ। चीनले दुर्इ देश जोड्ने रसुवागढी नाकातर्फको करिब १७ किलोमिटर सडक दुर्इ लेनमा विस्तार गर्नका लागि सम्झौता गरेर अहिले डिजाइनको काम गरिरहेको छ।चीनले रसुवागढी नाकालार्इ अन्तराष्ट्रिय नाकाका रुपमा विकास गर्न चाहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell