PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एक लिटरसम्म ड्युटी फ्री मदिरा ल्याउन छैन बन्देज, ६ किलो खाद्यान्न पनि



पहिलोपोस्ट

एक लिटरसम्म ड्युटी फ्री मदिरा ल्याउन छैन बन्देज, ६ किलो खाद्यान्न पनि

काठमाडौं : विदेशबाट फर्किनेको एउटा आकर्षण छ- डियुटी फ्रिबाट मदिरा ल्याउने। विदेशबाट फर्किएका अधिकांशले ह्यान्ड क्यारीमा मदिरा ल्याउने गर्छन्। 
 
स्वदेशमा डियुटी फ्रि शप बन्द भएकाले अधिकांशले विदेशको विमानस्थलबाट यस्ता मदिरा खरीद गर्छन्। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्‍यो। बजेटबाट मदिरामा लाग्दै आएको राजस्वको दरमा ठूलै परिवर्तन भयो।
 
आर्थिक विधयेकमार्फत् अर्थमन्त्री डा युवराज खतिवडाले राजस्वका दर र दायरामा धेरै परिवर्तन गरे। अर्थमन्त्री खतिवडाले सवारी साधनदेखि मदिरासम्म सम्पूर्ण क्षेत्रमा प्रहार गरे। 
 
खतिवडाको प्रहारमा सबैभन्दा धेरै रक्सी र चुरोटमा पर्‍यो। नेपालमा उत्पादन हुने मदिरा र सुर्तीजन्य पदार्थमा अन्तशुल्क बढेको छ। विदेशबाट आयात हुने मदिरा र सुर्तीजन्य पदार्थको भन्सार दर तथा अन्तशुल्क दुवै बढेको छ। 
 
तर, खतिवडाले हवाई मार्गबाट नेपाल आउने यात्रुले एक लिटरसम्मको मदिरा आफूसँग ल्याउन पाउने व्यवस्था भने यथावत राखेका छन्। आर्थिक विधयेकमा यस विषयमा कुनै नीतिगत परिवर्तन नगरिएको अर्थ सचिव राजन खनालले बताए। 'यस विषयमा कुनै पनि नीतिगत परिवर्तन भएको छैन, पहिले जे व्यवस्था थियो त्यसैले निरन्तरता पाएको छ,' खनालले भने। 
 
संसारभरका एयरपोर्टबाट यात्रुले ड्युटी फ्रीमा सामान किन्ने चलन छ। विमानस्थलमा अन्तशुल्क मुक्त त्यस किसिमका मदिरा बिक्री गर्ने गरिन्छ। 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख श्याम भण्डारीले बजेट आउनुअघि जस्तै बजेटपछि पनि ड्युटी फ्रिका मदिरा भित्रिरहेको जानकारी दिए। 'यो विषयमा अहिलेसम्म कुनै पनि परिवर्तन भएको छैन, पहिले जसरी ल्याउन पाइन्थ्यो अहिले पनि त्यसैअनुसार ल्याइरहेका छन्,' भण्डारीले भने। 
 
नेपालमा विदेशबाट ६ किलोसम्म खाद्यान्न ल्याउन पाइन्छ। अहिलेलाई यो विषय पनि यथावत राखिएको छ। 
 
सरकारले विदेशबाट सुन आयात गर्न पाउने प्रावधानमा भने परिवर्तन गरेको छ। यसअघि एकजनाले विदेशबाट आउँदा ५० ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्था रहेकोमा अहिले त्यसलाई परिवर्तन गरी १०० ग्राममा बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell