
रसियामा जुन १४ बाट सुरु हुने फिफा विश्वकप फुटबल सुरु हुन अब ११ दिन मात्र बाँकी छ। अहिले सबैको नजर रसियातिर छ, २१औँ संस्करणको विश्वकपका लागि।
अहिलेसम्म विश्वकपको २० संस्करण आयोजना भइसकेको छ। अहिलेसम्म विश्वकपका लागि दुई खालको ट्रफी बनाइएको थियो।
सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जित्दै जुल्स रिमेट ट्रफी सँधैको लागि आफ्नो बनाएपछि फिफाले नयाँ ट्रफी बनाएको थियो। उक्त ट्रफी १९७४ देखि प्रयोग हुँदै आएको छ। तर विश्वकप जित्ने टिमले उक्त ट्रफी घर लैजान पाउनेछैन। फिफाले विजेतालाई त्यसको रेप्लिका ट्रफी प्रदान गर्दै आएको छ।
सन् १९७४ देखि अहिलेसम्म नयाँ ट्रफी ११ विजेताले चुम्न पाएका छन्। सन् १९७४ मा यो ट्रफी पहिलो पटक पश्चिम जर्मनीले जितेको थियो। त्यसपछि १९७८ मा अर्जेन्टिना, १९८२ मा इटली, १९८६ मा अर्जेन्टिना, १९९० मा पश्चिम जर्मनी, १९९४ मा ब्राजिल, १९९८ मा फ्रान्स, २००२ मा ब्राजिल, २००६ मा इटली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले जितेका थिए।
फिफाले बनाएको नयाँ ट्रफी ३६.६ सेमि अग्लो छ भने तौल ६.१७५ केजी छ। यो ट्रफी १८ क्यारेट सुनबाट बनाइएको हो।