
फिफा विश्वकप फुटबलको २१ औँ संस्करण यही जुन १४ देखि रसियामा हुँदैछ। बीस संस्करण आयोजना भइसक्दा धेरै रोमाञ्चक र सम्झन लायक क्षणहरु छन् विश्वकपका।
तर, विश्वकप दौरान केही यस्ता घटना समेत जो विवादित रहे।
विशेषगरी सन् १९६२ को ब्याटल अफ सान्टियागोदेखि विश्वकपमा विवादास्पद घटनाहरु निरन्तर भए। र, यो पछिल्लो विश्वकप २०१४ सम्म कायमै रह्यो।
यी हुन विश्वकप र त्यसमा भएका विवादित घटना
१९६२ ब्याटल अफ सान्टियागो
यस विश्वकपका चिली र इटली बीचको खेलमा हिंसात्मक भयो। रेफ्रीले इटलीका दुई खेलाडीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। उक्त खेलपछि त्यसलाई ब्याटल अफ सान्टियागो भनियो।
१९६६ जियोफ हर्स्ट गोल
१९६६ को फाइनलमा इंग्ल्याण्डका जियोफ हर्ट्सले पश्चिम जर्मनी विरुद्ध गरेको दोस्रो गोलको बारेमा अझै पनि विवाद छ। खेल २-२ को बराबरीमा चलिरहेको अवस्थामा हर्स्टले १०१ औँ मिनेटमा एलान बलको क्रसमा गोल गरे। उक्त प्रहार क्रस बारमा लागेर तल मैदानमा लाग्दै मैदानतिर आएको थियो। तर, रेफ्रीले त्यसलाई गोलको मान्यता दिएपछि इंग्ल्याण्डले ३-२ को अग्रता बनायो र अर्स्टले खेलको अन्त्यतिर गोल गर्दै इंग्ल्याण्डलाई ४-२ को जित सहित ट्रफी दिलाए।
१९८२ प्याटिक बासिस्टन मैदानमै बेहोस
सेमिफाइनल खेलमा पश्चिम जर्मनीका गोलकिपर होराल्ड सुमाकरले फ्रान्सका प्याट्रिक बासिस्टनलाई फल गरेका थिए। त्यसलगत्तै फ्रान्सका डिफेण्डर बेहोस भए र उनलाई मैदानमै अक्सिजन दिनुपरेको थियो। तर, रेफ्री चार्ल्स कोभरले भने जर्मनीकै पक्षमा गोल किकको निर्णय गरेका थिए।
१९८६ म्याराडोनाको हाते गोल
अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोनाले इंग्ल्याण्ड विरुद्धको क्वाटरफाइनल खेलमा गोलपोस्ट नजिकैबाट उफ्रिएर हातले गोल गरेका थिए। गोलकिपर पिटर सिल्टन विरुद्ध गरिएको उक्त गोलको मान्यता दिइयो। पछि म्याराडोनाले पत्रकारहरुसँग कुराकानीमा त्यसलाई भगवानको हातको गोल भनेका थिए।
१९९० रिजकार्डले भोलरलाई थुके
अन्तिम १६ को खेलमा विवाद भएपछि नेदरल्याण्डका फ्रान्ज रिजकार्ड र जर्मनीका रुडी भोलरलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। त्यसपछि रिजकाडले भोलरलाई थुकेका थिए।
यस्तै म्याराडोना कप्तानका रुपमा लगातार दुई विश्वकप जित्ने योजनामा थिए। तर, जर्मनीका युर्गेन क्लिन्समनलाई जबरजस्ती हावामा उड्न बाध्य पार्दै मैदानमा लडाएपछि अर्जेन्टिनाका पेडव मोजनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। मोजोन विश्वकप फाइनलमा रातो कार्ड पाउने पहिलो खेलाडी बने। फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै जर्मनीले उपाधि जित्यो।
१९९४ टाटोसीका किक
स्पेनका लुइ सइनरिकेकव नाकमा प्रहार गरेका कारण इटलीका टाटोसीलाई रातो कार्ड देखाइयो। टाटोसीलाई फिफाले ८ खेलको प्रतिबन्ध लगायो जसले गर्दा उनले ब्राजिल विरुद्धको फाइनल खेल गुमाउनुपर्यो।
आन्द्रे इस्कोबारको आत्मघाती गोल
विश्वकपको इतिहासमै अहिलेसम्म भएको सबैभन्दा दु:खद घटना १९९४ को अमेरिका विश्वकपमा भयो। कोलोम्बियाका इस्कोबारले समूह चरण अन्तर्गत अमेरिका विरुद्धको खेलमा आत्मघाती गोल गरेका थिए। उक्त खेल कोलम्बियाले २-१ ले हारेको थियो।
विश्वकपपछि इसक्बारको हत्या भयो। उनले खेलमा गरेको गल्तीको सजाय मृत्युको रुपमा पाए।
१९९८ बेकहम किक
अर्जेन्टिना विरुद्धको खेलमा इंग्ल्याण्डका डेभिड बेकहमले अर्जेन्टिनाका डिएगो सिमोनीलाई डाइरेक्ट किक हानेका थिए। जसले गर्दा उनले सिधै रातो कार्ड पाएका थिए।
२००२ रिभाल्डोको बाहना
ब्राजिल विरुद्धको खेलमा टर्कीका हाकन उनसाले प्रहार गरेको बल खुट्टामा लागे पनि ब्राजिलका रिभाल्डोले टाउकोमा चोट लागेको बहाना गरे। त्यसपछि हाकनलाई रातो कार्ड देखाइयो। तर, पछि टिभिमा रिप्ले हेर्दा रिभाल्डोले नाटक गरेको प्रष्ट देखिएको थियो।
२००६ न्युरेमवर्गको लडाईँ
पोर्चुगल र नेदरल्याण्डबीचको खेल निकै हिंसात्मक बन्यो। यस खेलमा रेफ्रीले ४ रातो कार्ड र १६ पहेँलो कार्ड देखाउनुपर्यो जुन अहिलेसम्मको कीर्तिमान हो। कार्ड मात्र होइन खेलमा आक्रोश पनि यति धेरै थियो कि पछि यसलाई न्युरेमवर्गको लडाईँ भन्न थालियो।
जिदानको हेडबट
फ्रान्सका जिनेदिन जिदानलाई २००६ को विश्वकपपछि सन्यास लिने उपयुक्त मौका जुरेको थियो र उनको टिम फाइनलमा इटली विरुद्ध खेल्न तयार थियो। तर, जब जर्मनीको बर्लिनमा भएको फाइनलमा जिदानले इटलीका मार्को माटेराजीलाई मैदानमै टाउकोले छातीमा प्रहार गरे तब उनले सिधै रातो कार्ड सामना गर्द मैदानबाट बाहिरिए। जिदानलाई उक्त फलपश्चात ३ खेलमा प्रतिबन्ध र ७५०० स्वीस फ्रांक जरिवाना गरिएको थियो। अन्तत: फ्रान्सलाई हराउँदै इटली विश्वच्याम्पियन बन्यो।
२०१० निजेलको कराते किक
फाइनल खेलमा नेदरल्याण्ड्सका निजेल जो ले स्पेनका जावी अलोन्सोलाई सिधै छातीमा खुट्टाले प्रहार गरेका थिए। तर रेफ्री होवार्ड वेवले उनलाई पहेँलो कार्ड मात्र देखाए। जसलाई कमेन्टर गरिरहेका माभ्रेले कराते किका संज्ञा दिएका थिए।
२०१० सुवारेज गोलकिपर
उरुग्वेका लुइस सुवारेजले क्वाटरफाइनल खेलमा घाना विरुद्ध निश्चित गोल हुन लागेको बल हातले रोक्दै गोल टारेका थिए। लगभग गोल हुने बल रोकेपछि सुवारेजलाई रेफ्रीले रातो कार्ड देखाउँदै घानालाई पेनाल्टी दिए। तर, असामोह जियानले पेनाल्टीमा गोल गर्न सकेनन् र घाना पेनाल्टी सुटआउटमा पारजित हुँदै अफ्रिकाबाट सेमिफाइनल पुग्ने पहिलो टिम बन्नबाट चुक्यो।
२०१४ सुवारेज बाइट
समूह चरणको खेलमा उरुग्वेका सुवेजले नै इटलीका डिफेण्ड जरुजियो किलेइनीको कुममा टोकेर विवाद ल्याए। त्यसपछि उनलाई फिफाले ४ महिना र ९ खेलको प्रतिबन्ध लगाएका थियो।