PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कांग्रेसले सदन अवरुद्ध गर्ने तयारी गरेपछि नियमावली पारित भएन



बीपी साह

कांग्रेसले सदन अवरुद्ध गर्ने तयारी गरेपछि नियमावली पारित भएन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने तयारी गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा आज पनि पारित हुन सकेन।

आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीको २,३ र ४ मा प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको थियो।

तर बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति जुट्न सकेको थिएन। बैठकमा सबै दलका प्रतिनिधिहरु सहभागी भएका थिए। 

कांग्रेसले मतदान गरी मस्यौदा पारित गर्न खोजे बैठक अवरुद्ध गर्ने बताएका थियो। कांग्रेसको समर्थन राजपाले पनि गरेको थियो।

यता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र संघीय समाजवादी फोरम पारित गराउने पक्षमा थिए।

बैठकमा निष्कर्ष निस्किन नसकेपछि नियमावलीको विषय कार्यसुचीमा राख्ने वा हटाउने जिम्मेवारी सभामुख कृष्णबहादुर महरालाई दिइएको राजपाका नेता राजकिशोर यादवले पहिलोपोस्टलाई बताए।

सहमतिको जिम्मेवारी पनि सभामुखलाई दिइएको थियो। तर आजै सहमति जुट्न नसके पछि सभामुखले कार्यसुचीबाट उक्त विषय हटाएको हो।

कांग्रेसले नियमावली संसदमा पेस भए सदन अवरुद्ध गर्न सांसदहरुलाई निर्देशन दिइसकेको थियो।

बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले पहिलोपोस्टसँग भने, ‘हामीले सहमतिको आधारमा जाउँ भनेका छौं। उहाँहरुले पेलेर जानु भयो भने हामी प्रतिपक्षीको सकारात्मक भूमिका निर्वाह गर्छौ। त्यसका लागि संसदमा सबै थोक गर्न सक्छौं।’

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने पक्षमा सत्तारुढ दल रहेको छ भने दोषी प्रमाणित नभएसम्म निलम्बन गर्न नहुने पक्षमा कांग्रेस र राजपा रहेको छ।

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell