
काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदनमा कांग्रेस निदाउन थालेको आरोप लगाएका छन्। आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा सिटौलाले वामपन्थी सरकारले बहुमतको बल देखाउँदै जनताको भावनाविपरितका कार्यक्रम ल्याउँदा पनि कांग्रेस सदनमा चुप लागेर बसेको बताए।
सिटौलाले भने, 'अहिले बहुमतको आधारमा सरकारले तानाशाही गर्न खोज्दैछ। यस्तो बेलामा संसदमा कांग्रेस निदाउन भएन। चुपचाप गरी सुनेर बस्ने होइन।' जनतालाई जगाउने पार्टीका रुपमा चिनिएको कांग्रेस आफै सुते अरूलाई जगाउन नसक्ने सिटौलाको जिकिर थियो।
पार्टीका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता भए पनि उनले प्रतिपक्षमा बसेर सशक्त भूमिका निभाउन नसकेको सिटौलाको आरोप थियो।
पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले पार्टीमा पनि तानाशाही शासन लाद्न खोजिएको भन्दै महाधिवेशनको ह्याङओभर बिर्सेर विधानबमोजिम चल्नुपर्ने सुझाव दिए।
पार्टीभित्र आत्मीयता भएपनि पछिल्लोपटक पार्टी सभापति एक्लै हिड्न खोजेको सिटौलाले दाबी गरे।
सिटौलाले भने, 'एक्लै हिडेर कहीकतै पुगिदैन। बहुमतको तानाशाही चलाउन नखोज्नुस।'
कांग्रेस देशको प्रकाशपुन्ज र परिवर्तनको वहाक भएकोले सबै अआफ्नो स्थानबाट उठ्नुपर्ने सिटौलाले बताए।
उनले कांग्रेस राष्ट्रको लागि भएकाले प्रतिपक्षमा रहेर भएपनि देशको नेतृत्वमा आउनुपर्ने धारणा राखेका थिए।
'वर्तमान सन्दर्भमा नेविसंघको भूमिका' विषयक उक्त कार्यक्रममा सिटौलाले निर्वाचन प्रचारका क्रममा उदयपुरमा वम विस्फोटमा परी घाइते भएकी मीरा कटुवाललाई सहयोग हस्तान्तरण गरे। कटुवाललाई नेविसंघ अमेरिकाका संयोजक प्रभातराज सापकोटाको संयोजनमा पठाएको ३ लाख रकम हस्तान्तरण गरेका हुन्।