
काठमाडौं : आइतवार तीन पूर्व डिआइजीले ३३ किलो सुन प्रकरणमा छानविन प्रभावकारी नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएपछि गृहमन्त्री रामबहादुर थापाले समितिका सदस्यसँग छलफल गरेका छन्।
आइतवार साँझ गृह मन्त्रालयमा भएको ब्रिफ्रिङमा मन्त्री थापा कडा रुपमा प्रस्तुत भएका थिए। गृहमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भने, 'सुन तस्करीमा संलग्नलाई पक्राउ गर्दा कसकसको टाँउको दुख्दैछ त्यो खुल्दै गएको छ। नत्र किन बोल्दै हिड्थे?'
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भएकाको बचाउ गर्दै हिँड्नेलाई समेत अनुसन्धानको दायरमा ल्याउन समितिलाई निर्देशन दिए। गृहमन्त्री थापाले सुन तस्करीलाई उन्मुक्ति दिलाउन समूह नै सक्रिय भएको समेत बताएका थिए।
आइतबार बिहान पाटनको ढोकैमा क्याफेमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व डिआइजी रमेश खरेलले सरकारको अनुसन्धान निष्पक्ष नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएका थिए।
यो पनि पढ्नुस : सुन काण्ड : अदालतमा विचाराधीन मुद्दामा पूर्व वरिष्ठ प्रहरी किन सक्रिय?
बाहिर जे कुरा आए पनि आफ्नो तरिकाले अनुसन्धान जारी राख्न थापाले निर्देशन दिएको बिफ्रिङमा सहभागीले बताए। गृहमन्त्रीलाई उद्धृत गर्दै भने, 'सरकारले गठन गरेको छानविन समिति हो। सरकार तपाईँहरुको कामप्रति विश्वस्त छ। निश्चिन्त भएर अनुसन्धान गर्नुहोस्।‘
सुन प्रकरणमा छानविन समितिले प्रतिवादी बनाएका ३० जनालाई जिल्ला अदालत मोरङले थुनामा पठाएको छ। यसरी थुनामा जानेमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ देखि एसएसपी दिवेश लोहनीसमेत छन्।
गृहमन्त्री थापाले छानविन समितिलाई थप अधिकारको आवश्यक परे सरकारले प्रत्यायोजन गर्ने समेत बताएका थिए। त्यस्तै मन्त्री थापाले ८८ किलो सुन प्रकरणको पनि अनुसन्धान गर्ने निर्देशन दिएका छन्।