
काठमाडौं : आइतवार तीन पूर्व डिआइजीले सुन प्रकरणबारेमा दिएको अभिव्यक्तिलाई लिएर गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।
अदालतमा विचाराधीन मुद्दालाई लिएर संवेदनशील विषयमा विभिन्न भ्रामक धारणाहरु सार्वजनिक भइरहेको भन्दै मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ, 'केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवारी अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिहरुबाट अनुसन्धान कार्यालाई नै गम्भीर असर पर्नसक्ने एवम् अपराधीहरुको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ नेपाल सरकार, गृह मन्त्रालय सचेत छ। त्यस्ता भ्रामक धारणाहरुका पछि कुनै सत्यता छैन।'
आइतबार बिहान पाटनको ढोकैमा क्याफेमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व डिआइजी रमेश खरेलले सरकारको अनुसन्धान निष्पक्ष नभएको र प्रहरीलाई फँसाएको अभिव्यक्ति दिएका थिए।