
वालिङः स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनील सुनारको मृत्यु भएको हो।
स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुई मोटरसाइकलमा पाँचजना सवार थिए।
घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन्। घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ। रासस