PahiloPost

Feb 10, 2025 | २८ माघ २०८१

यी हुन् रसिया विश्वकपमा १० नम्बर जर्सी लगाउने चर्चित १० खेलाडी



पहिलोपोस्ट

यी हुन् रसिया विश्वकपमा १० नम्बर जर्सी लगाउने चर्चित १० खेलाडी

जुन १४ देखि रसियामा हुने फिफा विश्वकप फुटबलका लागि फिफाले सहभागी ३२ वटै देशको अन्तिम २३ सदस्यीय टोली सोमबार घोषणा गरेको छ।

यस्तै घोषित टोलीका २३ खेलाडीलाई १ देखि २३ नम्बरसम्मको जर्सी नम्बर समेत छुट्याइएको छ।

अहिलेका विश्व चर्चित खेलाडीहरु लियोनल मेसीदेखि नेमार, मोहमद सलाह, रहिम स्टर्लिङ, मेसुट ओजिल, जेम्स रोड्रिगेज, युवा खेलाडी केइलिन एमबापे ले रसियामा आफ्नो देशको लागि जर्सी नम्बर १० लगाएर मैदानमा उत्रने छन्।

१० नम्बर जर्सी फुटबल खाडीको लागि विशेष मानिन्छ। विशेषगरी टोलीका मुख्य तथा स्टार खेलाडीले यो जर्सी लगाएर खेल्ने गर्छन्।

विश्वका केही चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, एन्टोनी ग्रीजमन, ह्यारी केन लगायत खेलाडीले भने जर्सी नम्बर १० लगाउने छैनन्।

 

रसियामा जर्सी नम्बर १० लगाउने खेलाडीहरु

 

लियोनल मेसी, अर्जेन्टिना

अर्जेन्टिनाका कप्तान समेत रहेका लियोनल मेसीले सन् २०१४ को विश्वकपमा पनि १० नम्बर जर्सी लागएका थिए। तत्कालीन कप्तान हुवाँ रोमन रिक्वेल्मेले सन्यास लिएपछि मेसीले २०१० को विश्वकपमा पनि १० नम्बर जर्सी लगाएर खेलेका थिए। जतिखेर उनी २२ वर्षका मात्र थिए।

क्लब फुटबलमा बार्सिलोनबाट खेल्ने मेसीले रोनाल्डिन्होले छाडेपछि एक दशक यता १० नम्बर जर्सी लगाएर खेल्दैछन्।


नेमार, ब्राजिल

नेमारले पनि सन् २०१४ मा घरेलु भुमिमा भएको विश्वकपमा जर्सी नम्बर १० लगाएर खेलेका थिए। ४ वर्ष अघि नै नेमारले ब्राजिलको कप्तानी सम्हालेका थिए। क्लब फुटबलमा नेमारले पिएसजीबाट खेल्दा पनि १० नम्बर जर्सी लगाउनेछन्।

 

रहिम स्टर्लिङ, इंगल्याण्ड

रहिम स्टर्लिङले इंग्ल्याण्डको ठूला प्रतियोगितामा पहिलोपटक जर्सी नम्बर १० लगाउन लागेका हुन्। सन् २०१० र २०१४ को विश्वकप तथा २०१६ को युरो कपमा १० नम्बर जर्सी लगाएका वायन रुनीले सन्यास लिइसकेका कारण स्टर्लिङले यस पटक मौका पाएका हुन्। ह्यारी केन, जेमी भार्डी जस्ता स्टार खेलाडीहरु भए पनि उनीहरुले अरु नै नम्बरका जर्सी लागउने भएका कारण स्टर्लिङले १० नम्बर लगाउने भएका हुन्। रहिमले क्लब फुटबलमा म्यानचेष्ठर सीटीबाट खेल्दा ७ नम्बर जर्सी लगाउँछन्।

 

मोहमद शलाह, इजिप्ट

३ दशकपछि इजिप्टलाई विश्वकपमा छनोट गराउन सफल मोहमद शलाहले पनि १० नम्बर जर्सी लगाउँनेछन्। क्लब फुटबलमा लिभरपुलबाट खेल्ने उनले ११ नम्बर जर्सी लगाउँछन्। च्याम्पियन्स लिग फाइनलमा चोट लागेका शलाहले विश्वकप टिममा परे पनि पहिलो भाग गुमाउने भएका छन्।

 

जेम्स रोड्रिगेज, कोलोम्बिया

४ वर्षअघि ब्राजिलमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जित्दा पनि रोड्रिगेजले १० नम्बर जर्सी लगाएका थिए। यसपटक पनि उनले १० नम्बर जर्सी पाएका छन्।

 

लुका मोडरिच, क्रोएसिया

क्रोएसियाका कप्तान समेत रहेका लुका मोडरिचले २०१४ को विश्वकप र २०१६ को युरोकपमा पनि १० नम्बर जर्सी लगाएका थिए। रियल मड्रिडबाट क्लब फुटबल खेल्दा पनि उनले १० नम्बर जर्सी लगाउँछन्।

 

मेसुट ओजिल, जर्मनी

सन् २०१४ मा जर्सी नम्बर १० लगाएका लुकास पोडोल्स्कीले सन्यास लिइसकेका कारण यस पटक विशुवकपमा जर्मनीको जर्सी नम्बर १० मेसुट ओजिलले लगाउँनेछन्।

 

केइलिन एमबापे, फ्रान्स

यस विश्वकपमा जर्सी नम्बर १० लगाउने सबैभन्दा कान्छा खेलाडी हुन् फ्रान्सका केइलिन एमबापे। एमबापे १९ वर्षका भए। क्लब फुटबलमा पिएसजीबाट खेल्ने उनी वर्तमान विश्व फुटबलको उत्कष्ट खेलाडी समेत हुन्। उनीबाट फ्रान्सले यस पटक उत्कृष्ट प्रदर्शनको आशा समेत राखेको छ। यसअघि मिचेल प्लाटिनी र जिनदिन जिदान जस्ता हस्तीहरुले जर्सी नम्बर १० लगाएका थिए।

 

थियागो अलकान्टारो, स्पेन

स्पेनको लागि नियमित रुपमा जर्सी नम्बर १० लगाउने सेस फाब्रेगास यस पटक विश्वकप खेल्ने टिममा नपरेपछि जर्सी रसियामा नयाँ खेलाडीले उक्त जर्सी लगाउने मौका पाउनेछन्। जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने २७ वर्षीय थियागोले यस पटक स्पेनको जर्सी नम्बर १० लगाउँनेछन्।

 

साडियो माने, सेनेगल

अफ्रिकन राष्ट्र सेनेगलले सन् २००२ पछि पहिलो पटक विश्वकप खेल्दैछ र त्यसका स्टार खेलाडी हुन् साडियो माने। क्लब फुटबलमा लिभरपुलबाट खेल्दै गत सिजनको च्याम्पियन्स लिग फाइनल खेलेका मानेले रसिया विश्वकपमा सेनेगलको जर्सी नम्बर १० लगाउँनेछन्।

 

यी दश बाहेक रसियामा जर्सी नम्बर १० लगाएर खेल्ने अन्य खेलाडीहरु यस प्रकार छन्।

 

जिओभानी डस सान्तोस मेक्सिको

जाओ मारिओ पोर्चुगल

जियोर्जिन डे अरास्काएटा उरुग्वे

ग्रान्ट जाका स्वीट्जरल्याण्ड

एमिल फोसवर्ग स्वीडेन

डुसान ताडिक सर्बिया

सिन्जी कागावा जापान

सेङ वु लि दक्षिण कोरिया

रोबी क्रुस अष्ट्रेलिया

जोन ओबी मिकेल नाइजेरिया

गिल्फी सिगुरसन आइसल्याण्ड

क्रिस्टियन एरिक्सन डेनमार्क



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell