PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

ह्वाट्सएप र विच्याटबाट हुन्डी : अपराधमा तानिए चर्चित व्यापारिक घराना



सविन ढकाल

ह्वाट्सएप र विच्याटबाट हुन्डी : अपराधमा तानिए चर्चित व्यापारिक घराना

काठमाडौं : सरकारले ह्वाट्सएप र विच्याटमार्फत् हुण्डीको कारोबार गर्नेविरुद्ध अपरेशन थाल्दा चर्चित घरानीया व्यवसायीसमेत तानिएका छन्।

पछिल्लो समय हुण्डीको कारोबार सामाजिक सञ्जालबाट हुन थालेपछि सरकारले कारवाही थालेको हो। सोमबार मात्रै ह्वाट्सएप र विच्याटमार्फत् हुण्डीको कारोबार गर्ने सात ठूला व्यापारी पक्राउ परे। पक्राउ पर्नेमा बहुराष्ट्रिय कम्पनीको नेपालको अधिकृत बिक्रेतासमेत् छन्।

पक्राउ पर्नेमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजनेशका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङ्तानी, पूर्ण लक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया, जगदीश राना सरिया, राजकुमार सिंघान्ची र रविन्द्र चोखानी छन्। उनीहरूको साथबाट प्रहरीले ५१ लाख चार हजार ५ सय रुपैयाँ र ३ करोड ५६ लाख ७३ हजार ५ सय ५७ रुपैयाँ बराबरको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको छ।

नेपाल ओभरसिज बहुराष्ट्रिय कम्पनी जोन्सन र ममीपोको प्यान्ट्सको अधिकृत बिक्रेता हो। यो कम्पनीले झण्डै डेढ अर्ब रुपैयाँ बराबरको सामान बिक्री गर्दै आएको छ। ३५ वर्ष अघिदेखि स्थापना भएको यो कम्पनीका अध्यक्ष पवन अग्रवाल हुन्। हुण्डीको कारोबारमा समातिएका राहुल पवनका छोरा हुन्।

बहुराष्ट्रिय कम्पनी जिलेटका उत्पादन बिक्रीबाट उनले व्यापार सुरु गरेका हुन्। नेपाल ओभरसिज अन्तर्राष्ट्रिय स्तरका परफ्युम र मदिराका नेपालका इम्पोर्टर हो। यो कम्पनीले कोराना एक्स्ट्रा, बडभाइजर, लेभे, स्टेला अर्टोइस, सोफी, लिस्ट्रिन, स्टे फ्रि, अजमल, पेरिसभ्याली, इम्पर लगायतका दर्जन भन्दा बढी कम्पनीका सामग्री इम्पोर्ट गर्छ। 
 

अरु पनि छन् कारोबारमा

ठमेल, महाबौद्ध लगायतका क्षेत्रका व्यापारीले यही सामाजिक सञ्जालबाट हुण्डीको कारोबार गर्दै आएका छन्। ‘हामीले सामाजिक सञ्जालबाट हुने हुण्डी कारोबारलार्इ नियन्त्रणका लागि अपरेशन थालिसकेका छौं। चीनबाट आउने पर्यटकले होटल बस्दा समेत विच्याटबाट भुक्तानी गर्ने र पैसा उतै राख्नेसम्मको प्रवृति देखिएको रहेछ,’ राजस्व सचिव शिशिर ढुंगानाले भने, ’प्रविधिको फाइदा उठाउँदै अवैध कारोबार गर्नेलार्इ कारवाहीको दायरामा ल्याउनेछौं।’

उनका अनुसार ठमेल, महाबौद्ध लगायतका क्षेत्रबाट दैनिक अर्बौको हुण्डी यस्तै सामाजिक सञ्जाल प्रयोग गरेर हुँदै आएको जानकारी आएको छ। ठमेलको चाइना टाउन लगायतका क्षेत्रमा चिनियाँ नागरिककै लगानीमा होटल र रेष्टुरेन्ट संचालनमा छन्। ती होटल र रेष्टुरेन्टमा आएका चिनियाँले क्यूआर कोडमार्फत् होटलको रुम र खानाको भूक्तानी गर्छन्।
 

कसरी हुन्छ हुन्डीको कारोबार

सोमवार पक्राउ परेकाहरु आवरणमा व्यापार गरे पनि मूख्य कारोबार हुण्डी नै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरूले नेपाल बाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। 

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरे वापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्।

एसएसपी सिंहले भने, 'उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्। भारतमा सबैभन्दा विश्वासिलो र लोकप्रिय म्यासेन्जर ह्वाट्सएप। चीनमा विच्याट लोकप्रि छ। हुण्डीको कारोबारमा ठूला व्यापारीको संलग्नता देखिएकाले अनुसन्धान तीब्र पारिएको एसएसपी सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell