1.jpg)
काठमाडौं : प्रधानमन्त्री कप वान डे क्रिकेट अन्तर्गत समूह ए को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको छ। विभागीय भिडन्तमा आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको हो।
२२९ रनको लक्ष्य पछ्याएको एपीएफले ३२.५ ओभरमा सबै विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो।
जितपछि आर्मी समूह ए को ४ वटै खेल जित्दै विजेता बन्दा ३ खेलमा जित र १ खेल हारेको एपीएफ समूह उपविजेता बन्यो।
कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४० ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो। आर्मीका लागि अनिल मण्डल र कप्तान विनोद भण्डारीले अर्धशतक प्रहार गरे।
मण्डलले ९९ बल खेल्दै ७ चौकाको मद्दतमा ७२ रन बनाए। आक्रमक ब्याटिङ गरेका भण्डारीले २३ बल खेल्दै ५ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै सागर पुनले ४६ तथा नरेश बुढाएरले ३७ रन जोडे। बाँकी खेलाडीले दोहवरो अंक छुन सकेनन्। बलिङतर\फ एपीएफका भुवन कार्कीले ३ विकेट लिए।
एपीएफका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका अमर सिंह राउटेलाले नटआउट रहदै सर्वाधिक २९ रन बनाए। १६ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहित कुमार पौडेलले २८, भुवन कार्कीले २६, अनिल शाहले २५ तथा सुवास खकुरेलले २२ रन जोडे।
एपीएफलाई अलआउट गर्न आर्मीका बलर सोमपाल कामीले ३ तथा सुसन भारी, सागर पुन र शहाब आलमले २-२ विकेट लिए।
आर्मीले अब सेमिफाइनलमा समूह ए को उपविजेता तथा एपीएफले समूह बी को विजेतासँग खेल्नेछ।
प्रदेश ३ लाई हराएपछि पुलिस सेमिफाइनलमा!
मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले पनि सेमिफाइनलमा लगभग स्थान बनाएको छ।
समूह बी मा ३ खेलपछि पुलिसले ५ अंक जोडेको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अंक छ।
एक खेल खेल्न बाँकी रहेको पुलिस र प्रदेश ५ को रनरेट ३ भन्दा बढी छ भने ४ वटै खेल खेलिसकेको प्रदेश ७ को रनरेट फितलो छ।
बुधवार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ। बुधवार हुने पुलिस र प्रदेश ५ बीचको खेलमा कुनै एक टिमले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा मात्र प्रदेश ७ को सेमिफाइनल पुग्ने झिनो सम्भावना बाँकी रहनेछ।
वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा पुलिसले प्रदेश ३ लाई ६ विकेटले हरायो। प्रदेश ३ ले दिएको १३८ रनको लक्ष्य पुलिसले १ बल बाँकी छदा ४ विकेट गुमाएर पुरा गर्यव।
पुलिसका लागि ओपनर सुनलल धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले अर्धशतकिय पारी खेल्दै शतकिय साझेदारी गरे। यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेपछि पुलिसले जित हासिल गरेको हो।
आरिफले ५४ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए। यस्तै ४६ बल खेलेका ओपनर सुनिल धमलाले २ चौका र ३ छक्काको मद्दतमा नटआउट ५० रन बनाए।
बलिङतर्फ प्रदेश ३ का रुपेश श्रीवास्तवले २ विकेट लिए। ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। दुई खेलाडीले मात्र दोहवरो अंक जोडेको प्रदेश ३ का लागि सोनु तामाङले ४८ तथा अदिल खानले ४५ रन बनाए। बलिङतर्फ पुलिसका रामनरेश गिरीले ३ तथा ललित भण्डारीले २ विकेट लिए।
पुलिसका आरिफ शेख खेलको म्याच अफ दि म्याच भए।