PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

यी हुन् गोली हानेर ९ लाख ५० हजार लुट्ने ५ जना, प्रहरीले गर्‍यो योजनाकारसहितलाई सार्वजनिक



पहिलोपोस्ट

यी हुन् गोली हानेर ९ लाख ५० हजार लुट्ने ५ जना, प्रहरीले गर्‍यो योजनाकारसहितलाई सार्वजनिक

काठमाडौं : जेठ १३ गते धनगढीमा रहेको आइएमइका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गर्ने मुख्य योजनाकार सहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य योजनाकार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय राजकुमार चौधरीसहित पाँच जनालाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेकामा ३० वर्षीय उग्रसेन राना, २७ वर्षीय कल्लु राना, रामप्रवेश राना र १८ वर्षीय बरु चौधरी रहेका छन्।

मुख्य योजनाकार राजकुमार चौधरीले योजना बनाई घटनामा प्रयोग भएको मोटरसाइकल र हतियार व्यवस्थापन गरेका थिए। चौधरी हातहतियार खरखजना मुद्दामा सजायँ भुक्तान गरी दश वर्ष अगाडि छुटेका हुन्। त्यस्तै उग्रेसन रानाले भने गोली हानेको अनुसन्धानमा खुलेको छ। उनी चोरी मुद्दामा चार वर्ष कारागारमा सजायँ भुक्तान गरी २०७१ मा छुटेका थिए। 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमवार बिहान गोङ्गबुबाट पक्राउ गरेको काल्लु रानाले भने मोटरसाइकल पछाडि बसेर झोला लुटेको पत्रकार सम्मेलनमा एसएसपी विनोद घिमिरेले बताए। कल्लु जबर्जस्ती करणी मुद्दामा ६ वर्ष जेल सजाय भुक्तान गरी गत माघमा छुटेका थिए। अन्य दुई जनाले भने घटना संलग्न ब्यक्तिको पैसा राख्ने गरेको देखिएको छ।  

जेठ १३ गते लु ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धनगढीको पुरानो भान्सार रोड सब्जीमण्डीमा आइएमइका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटेर भागेका  थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell