PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अन्तर्राष्ट्रियस्तरको विमानस्थल खोज्न मन्त्री रवीन्द्र अधिकारी कर्णालीमा 



पी बी खड्का

अन्तर्राष्ट्रियस्तरको विमानस्थल खोज्न मन्त्री रवीन्द्र अधिकारी कर्णालीमा 

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको ‘खोजी गर्न’ नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सुर्खेतमा पुगेका छन्। 

देश प्रादेशिक संरचनामा गइसकेकाले कर्णालीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल अध्ययन र सम्भावनाको खाँचो रहेकाले मन्त्री अधिकारी यहाँ आइपुगेका हुन्। 

प्रदेशको राजधानी उपत्यकामा सम्भावना नभएकाले अब उपत्यकाबाहिर अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुने सम्भावना बोकेको विमानस्थलको खोजी गर्ने उद्देश्यका साथ मंगलवार सुर्खेतमा आएको उनले स्पस्ट पारे। 

‘प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना नरहेको नागरिक उड्ययन मन्त्रालय निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘अब तत्काल मन्त्रालयले सुर्खेत उपत्यकाबाहिर सम्भावित क्षेत्र छनौट गर्छ।’

सम्भावित क्षेत्र खोज्ने काम भइरहेको भन्दै उपत्यका बाहिर अध्ययन र सम्भावनाको क्षेत्र समेत २/३ दिनमै टुङ्गो लगाउने उनले बताए। 

‘कर्णालीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल नै बनाउनुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने, ‘८० देखि १०० सिट क्षमता भएका जहाज बस्ने र पार्किङ गर्न सक्नेसम्मको बनाउने योजनामा छौं।’

मन्त्री अधिकारीले विमानस्थल बनाइसकेपछि बाह्रै महिना चल्ने बनाउने तयारीमा सरकार लागेको जानकारी दिए। अब सरकारले विमानस्थल बनाउँदा दीर्घकालीन सोच र दिगो हुनेगरी बनाउन आवश्यक रहेको बताए। 

विमानस्थलले कर्णालीको विकास र समृद्धिमा सहयोग गर्ने भन्दै केन्द्र सरकार हरबखत सहयोगका लागि तयार रहेको बताए। हाल कर्णालीमा सञ्चालित सुर्खेत, मुगु, डोल्पा लगायतका विमानस्थल स्तरोन्नतीका लागि पहल गर्ने पनि उनले बताए। 

अहिले भर्खर सार्वजनिक भएको संघीय सरकारको बजेटमा कर्णालीलाई उच्च प्राथमिकतामा राखेको दावी गरे। सरकारले कर्णालीलाई विशेष तरिकाले हेरिरहेको भन्दै यहाँको विकास र समृद्धिमा केन्द्र सरकारले कुनै कसर बाँकी नराख्ने बताए। ‘कर्णालीको विकासको मुख्य सम्भावना भनेको पर्यटन हो, ’ उनले भने, ‘कर्णालीको पर्यटनलाई माथि उठाउन पर्याप्त बजेट नभए पनि केही हदसम्म राम्रो आएको छ।’  कतिपय विषयहरु बजेटमा नसमेटिए पनि काम गर्दै जाँदा समेट्न सकिने उल्लेख गरे। 
 

मापदण्ड पुर्‍याएर विमानस्थल बनाउन माग

पूर्वमन्त्री एवंम प्रदेश सभा सांसद यामलाल कँडेलले दीर्घकालीन र पहुँचयोग्य विमानस्थलको खोजी गर्न आग्रह गरे। कर्णालीको विकासमा हवाई सेवा महत्वपूर्ण भएकाले यसलाई दीर्घकालीन र प्राविधिक रुपमा अघि सारी निर्माणकार्य अघि बढाउन सुझाव दिए। सरकारलाई विमानस्थलका लागि आवश्यक प्रक्रिया छिटो अघि बढाउन समेत आग्रह गरे।  

त्यस्तै, पूर्वमन्त्री तथा प्रदेशसभा सांसद जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नाम मात्र नभएर साच्चिकै अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्ने बताए। अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुसार दक्ष प्राविधिक ल्याएर अध्ययन र सम्भाव्यता खोज्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell