
काठमाण्डौ : चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनपमासि दुई विभागीय टोलि एपीएफ र पुलिसले सेमिफाईनलमा स्थान बनाएका छन्।
बुधवार भएको खेलमा एपीएफले पद्योदय युवा क्लव, चितवनलाई ३–१ को सेटमा हराउँदै दुई खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा एपीएफले पद्योदयबिरुद्ध २५–११, २५–१६, २०–२५, २५–५ को सेटमा हराए पछि ३ खेलबाट ९ अंक जोडेको छ।
बुधवार दोहोरो जित निकालेको पुलिसले चार खेलबाट ३ जित निकाल्दै ९ अंकका साथ सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ। बुधवार पुलिसले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा पद्योदय युवा क्लव, चितवनलाई समान ३–० को सेटमा हरायो। पुलिसले जावलाखेलबिरुद्ध २५–७, २५–९, २५–११ को जित निकालेको थियो। अर्को खेलमा पुलिसले पद्योदयलाई २५–१२, २५–१६, २५–१६ को सेटमा हरायो।
त्यस्तै शिवम् न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सेटमा पराजित गर्यो। विभागीय टोलीबिरुद्ध न्यू डायमण्डले २५–२१, २५–१४, २५–१८ को सेटमा जित हासिल गरेको हो। पश्चिमान्चल भलिवल संघको टोलीमा खेल्दै आएका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र अरुणा शाहीको उपस्थितिले न्यू डायमण्ड टिमले आर्मी विरुद्ध बलियो देखिएको थियो। न्यू डायमण्डले ३ खेलबाट ६ अंक जोड्दै सेमिफाईनलको बाटो सहज बनाएको छ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ। लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन्।