.jpg)
काठमाडौं : दशौँ केन्द्र स्तरिय राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन १५ सय मिटर दौडमा अजित राना मगर र रामामाय बुढाले कीर्तिमान बनाएका छन्।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बुधवारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको प्रतियोगिता यी दुईले कीर्तिमान कायम गरेका हुन्।
प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडको छात्रमा प्रदेश ३ का अजितकुमार यादव र छात्रामा प्रदेश ६ की राममाया बुढाले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
अजितले निर्धारित दूरी ४ मिनेट ०२.९ सेकेन्डमा पूरा गरी आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे। राममायाले ५ मिनेट ००.८ सेकेन्डमा दूरी तय गर्दै जुम्लाकी मन्जु राउतले गत संस्करणमा बनाएको कीर्तिमान भंग गरिन्।
एक सय मिटर दौडको छात्रमा प्रदेश ४ का प्रकाश राना मगर र छात्रामा प्रदेश ३ की लुजला अमात्यले स्वर्ण जिते। प्रकाशले ११.३ सेकेन्ड तथा लुजलाले १३.३ सेकेन्डमा दौड पुरा गरे।
सटपुटको छात्रमा प्रदेश ६ का पदम परियार र छात्रामा प्रदेश १ की विनिता राई तथा लङजम्पको छात्रमा प्रदेश ३ का अमित राई र छात्रामा प्रदेश ३ कै रन्जिता राई पहिलो बने।
त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नयाँ आर्थिक वर्षदेखि ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था हुने जानकारी गराउदै २०७५ सालमा खेलकुद पूर्वाधार निर्माणले अझ बढी गति लिने बताए।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नयाँ प्रतिभाको पहिचान गर्न उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै कुनैपनि खेलको जग नै विद्यालय खेलकुद भएको धारणा व्यक्त गरे।
विभिन्न ६ खेल समावेश प्रतियोगिताअन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२, कराते र तेक्वान्दोमा ८–८ तथा उसुमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
तीनदिने प्रतियोगितामा ७ प्रदेशबाट ६ सय ३७ खेलाडी सहभागी छन्। टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन्। व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार हात पार्नेछन्। जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ।