
काठमाडौं: महानगरीय प्रहरी परिसर टेकुको हिरासत अहिले वैदेशिक मेडिकल ठगहरुको 'हब' नै बनेको छ। ठगी अभियोगमा हिरासतमा रहेका मेडिकल व्यवसायीहरूलाई भेट्न र छुटाउनको लागि चलखेल गर्नेहरु दोहोरिलत्ता नै छन्।
जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिए ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये जिल्ला अदालतबाट ठगी अभियोगमा ३४ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान सुरु गरेपछि उच्च तहका नेता तथा प्रहरी नै प्रहरीको अनुसन्धान फितलो बनाउन सक्रिय भएका थिए। स्रोतले भन्यो 'मुद्दा कमजोर बनाउन नेतादेखि प्रहरीका उच्चतहका अधिकृतको दबाब छ।' नेताले प्रहरीलाई दबाब दिएपछि केही व्यवसायीहरू अनुसन्धान नसकिँदै अदालतमा हाजिर भएर छुटी सकेका छन्।
प्रहरी हिरासतमा रहेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई कम धरौटी र बिगोमा छुटाउन अहिले काँग्रेसका उच्च तहका नेताहरू लागि परेका छन्। श्रेष्ठविरुद्ध २ अर्ब भन्दा बढीको बराबरको बिगो लगाइएको छ। २ अर्बभन्दा बढी बिगो भए श्रेष्ठले अदालतबाट छुट्न २ करोड भन्दा बढी बुझाउनु पर्ने देखिन्छ। तर प्रहरीलाई बिगो रकम घटाएर अदालतमा उपस्थित गर्ने अनुसन्धान अधिकृतलाई प्रेसर दिएका छन्।
बिगो रकम बढी भएपछि अध्यक्ष श्रेष्ठ नर्भिक अस्पतालमा
प्रहरी नियन्त्रणमा रहेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ अहिले नर्भिक अस्पतालमा छन्। बिगो रकम बढी भएपछि श्रेष्ठ अस्पतालको बेडमा पुगेको प्रहरी स्रोतले बताएको छ। २ अर्ब भन्दा बढी बिगो रकम देखिएपछि धरौटीमा छुट्ने सम्भावना कम भएकाले उनी अस्पताल पुगेका हुन्। त्यसो त भिआइपी ठगहरुले हिरासतमा रात कटाउनुपर्यो भने बिरामीको बाहना बनाएर अस्पताल पुग्ने परम्परा नै हो। श्रेष्ठलाई अर्बभन्दा बढी बिगो लगाइयो भने हिरासतबाट छुट्न ४ करोडभन्दा बढी रकम अदालतमा बुझाउनु पर्ने हुन्छ।
राजनीतिक दबाब
गृह सचिव प्रेमकुमार राईको निर्देशनपछि मेरिडियन मेडिकलका सञ्चालक देवान राई धरौटी बुझाएर छुटेका छन्। राईले अदालतमा पचास लाख रुपैयाँ धरौटी बुझाएका हुन्। राईको धरौटी कम गर्न राजनीतिक चलखेलसमेत भएको स्रोतले बताएको छ। राई एमाले निकट मेडिकल व्यवसायी हुन्। पूर्व एमालेका स्वास्थ्य विभागका सदस्य समेत थिए।
नेकपा एमालेको संरक्षणमा रहेका जिएसजी सर्भिस नेपालका सञ्चालक गोविन्द थपलिया भने अझै पक्राउ पर्न सकेका छैनन्। थपलिया पनि प्रहरीको खोजी सूचीमा छन्।
कसले कति धरौटी बुझाएर छुटे?
वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका १४ जना मेडिकल व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौँ जिल्ला अदालतको आदेशमा मंगलवार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्था र ईश्वर भण्डारी रहेका छन्। तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थाले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएका हुन्।
सोमवार व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार र बुधवार रोजिना शाक्यसहित अन्य ३ जनाले १५/१५ लाख धरौटी रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।