काठमाडौं: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्।
खड्काले बिहिवार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन्। उनले देशीविदेशी तत्व लागेर आफूलार्इ असफल बनाएको आरोप लगाएका छन्। ‘मैले घाटामा गएको निगमलार्इ नाफामा लगेको थिए,' राजीनामा दिँदै उनले भने।
निगमको जग्गा खरिददेखि नाकाबन्दीमा पेट्रोलियम वितरणमा अनियमितता गरेर विवादमा आएका खड्कालार्इ तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा बर्खास्त गरिएको थियो। बर्खास्त भएका खड्का आफूलार्इ गैरकानुनी रुपमा हटाइएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले खड्कालार्इ नहटाउन आदेश दिएको थियो। यो आदेशपछि सरकारले खड्कालार्इ आपूर्ति मन्त्रालय तानेको थियो। आपूर्ति मन्त्रालयमा तानेपनि उनी हाजिर मात्रै गर्थे। उनलार्इ कुनै जिम्मेवारी दिइएको थिएन।
यस्तो थियो उनको रजगज
२०७१ माघ १४ गते मन्त्रिपरिषद्बाट खड्का निगमको कार्यकारी निर्देशकमा नियुक्त भए। उनी नियुक्त भएको केही समयमै सरकार परिवर्तन भयो। संविधान जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आयो।
आपूर्ति मन्त्री बने माओवादीका गणेशमान पुन। संविधान जारी भएको केही दिनमै भारतले अघोषित नाकाबन्दी लगायो। नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको हाहाकार सुरु भयो। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने जिम्मा पाएको निगमको व्यवस्थापनले सहज बनाउन प्रयास गरेन। बरु उल्टै कालोबजारी गर्ने पेट्रोल पम्पलार्इ तेल दिन सिफारिस हुन थाल्यो। खड्का नेतृत्वको निगमले ठूला उपभोक्ताका नाममा जथाभावी तेल दिन सिफारिस गरे।
तीन लिटर तेल लिन चार/पाँच दिनसम्म लाइन बस्दा पनि नपाउने तर निगमको सिफारिसमा 'ठूला उपभोक्ता'लाई पेट्रोलियम पदार्थ दिएर कालोबजारीलार्इ बढावा दिए उनले। उनले तोक आदेशमा भलवारी डिपोबाट १२ हजार लिटर डिजल कालो बजारीकै लागि दिन आदेश दिए। रुपन्देही जिल्ला प्रशासनले बाटोमै डिजलसहित ट्रकमा नियन्त्रणमा लियो। यो प्रकरणमा भलवारी डिपो प्रमुख दिनेश यादवलार्इ केन्द्रीय कार्यालय तानियो।
तर, तोक आदेश दिने खड्कामाथि कुनै कारवाही भएन। जनता नाकाबन्दीको रापमा परेको बेला खड्काले एउटा निजी कम्पनी बिराट पेट्रोलियमलार्इ तेल आपूर्ति गर्न पाउने निर्णय गरे। निगमका निर्देशक दीपक बरालसहितका टोलीले महँगोमा तेल ल्याएर बिक्री गर्न दिने निर्णयको विरोध गरेपछि दसैं बिदाको दिन उनको सरुवा गरियो। नाकाबन्दीले आम जनताले दु:ख खेपिरहेका बेला निगमका कार्यकारी निर्देशक खड्कालार्इ भने निगमलार्इ कमाउने लाइसेन्स बनाइरहेका थिए। कार्यकारी निर्देशक पदको दुरुपयोग गर्दै खड्काले 'दलाली गर्ने निजी क्षेत्र' पोस्ने काम गरेका थिए।
भूकम्पका बेलामा त्रिपालमा समेत कमिशन खाने एउटा समूह कम्पनी खडा गरेर तेल ल्याउने र महँगो मूल्यमा जनतालार्इ बिक्री गर्ने योजनामा थियो। त्यही योजना अनुसार खड्काले कार्यकारी निर्देशकको पदलार्इ लाइसेन्सको रुपमा प्रयोग गरे। त्यसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको भूमिका पनि शंकास्पद र सन्देहपूर्ण नै थियो।
एकातिर उनी नाकाबन्दीको विरुद्धमा भारतसँग राष्ट्रियताको कुरा गर्दै चीनबाट तेल ल्याउने कुरा गर्थे। अर्कोतिर भारतबाट आएको तेल समेत उपभोक्तालार्इ नदिइ ठूलाठालु पोस्ने खड्कालार्इ संरक्षण गरिरहन्थे। खड्काले गरिरहेको अनियमितताको विषय उनको कानसम्म पुगेको पनि उनले सुनेनन्। यतिसम्म कि ओली आफ्ना निकटलार्इ भन्ने गर्थे - सबैले खड्कालार्इ गाली गर्छन् तर उनलार्इ गाली गर्नुपर्ने कारण मैले केही देख्दिन। सबैले उनको किन खेदो खन्छन्?
ओलीको यस्तो प्रतिक्रियापछि गोपाल खड्काविरुद्ध सडक आन्दोलनमा उत्रिएका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुले आन्दोलनमात्र छाडेन, उनलाई अतिथि नै बनाएर भृकुटीमण्डपमा सभाको आयोजना गर्योन। खड्काप्रति ओलीको दृष्टिकोण नबुझेका अखिलका कार्यकर्ता उनीविरुद्ध अख्तियारसम्म उजुरी बोकेर पुगिसकेका थिए। त्यसपछि देशकै ठूलो विद्यार्थी संगठन सधै मौन रह्यो।
खड्काको सबै दलका शीर्ष नेतासँग सिधै सम्बन्ध थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोही पनि दुर थिएनन्। यसैले उनी सबैका प्रिय थिए। संचार माध्यमले उनका अनियमितताका दृश्यहरु सार्वजनिक गरिरहे। तर, गणतन्त्र नेपालका बलिया खड्का टसमस भएनन्।
शीर्षबाहेक भारेभुरे नेतालाई पनि उनले रिझाएका थिए उनले। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र अहिलेका दीप बस्न्यात पनि खड्काप्रति पोजेटिभ नै रहे। उनले यसरी रिझाएका थिए कि अनियमितताको सूची लम्बिरहँदा पनि उनीहरुले अनदेखा गरिरहे। बोनस खुवाएको विषयमा तात्कालीन कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित कर्मचारीलार्इ जेल हाल्ने अख्तियारले करोडौं घोटालका प्रमाण पेश हुँदा पनि सामान्य बयान समेत लिन जरुरी ठानेन्। यसैले अख्तियारमा उनको पकड कति बलियो थियो प्रस्ट्याउँछ।
नाकाबन्दीका बेलामा खड्काले दुर्इटा निर्णय गराए। एउटा पेट्रोल र डिजल बिराट पेट्रोलियमबाट ल्याउने र हवार्इ इन्धन पेट्रोलिम्याक्सले ल्याउने। यी दुवै निर्णयमा खड्काले राजनीतिक हिसाबकिताबलाई बेजोडले मिलाएका थिए।
हवार्इ इन्धन ल्याउनकै लागि दर्ता भएको पेट्रोलिम्याक्सका संचालक शेरबहादुर देउवाका साला प्रमोद राणा थिए भने बिराट पेट्रोलियममा संचार माध्यमका मालिक, मोबाइल बिक्रेता लगायतका एउटा समूह नै थियो। यो समूह यति शक्तिशाली थियो कि केपी ओली र प्रचण्डलार्इसमेत मिलाउँथ्यो। भष्टाचारका श्रृंखलाको चाङ खात लाग्दा पनि शीर्ष नेताहरु निदाए झै देखिए।
नाकाबन्दीपछि संसदीय समितिले देशभरी नै ९० दिनलार्इ पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता बिस्तारका लागि निर्देशन दियो।
देशले भोगेको क्राइसिसबाट मुक्त हुनका लागि आएको निर्देशन खड्काका लागि कमाउने अर्को अवसर बन्दै थियो। जग्गा खरीदका लागि त्यही समूह फेरि पुर्नजिवित भयो जो नाकाबन्दीका समय कमाउन सक्रिय थिए। नाकाबन्दीका बेलामा बिराट पेट्रोलियम खडा गरेर नाफा खान खोज्ने समूहले लगानीको कर्न्सोटियम तयार गरे।
आयल निगमभित्रको जग्गा खरीद प्रकरण सुरु भयो। त्यही समूहले विभिन्न स्थानमा जग्गा किन्न आफ्ना मान्छे खटाए। खड्काले जग्गा किन्नका लागि छोरालार्इ समेत खटाए।
स्थानीय जग्गा व्यापारीसँगको मिलेमतोमा सस्तोमा जग्गा उठाउने र निगमलार्इ महँगोमा बिक्री गर्ने योजनाको ब्लुप्रिन्ट तयार भयो। योजना अनुसार देशका विभिन्न स्थानमा जग्गा किनियो पनि। जग्गा किन्दा बिरोध नहोस् भनेर निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टरार्इ, निमित नायव कार्यकारी निर्देशक नागेन्द्र साहलार्इ समेत आफ्नो हातमा लियो यो समूहले। नाकाबन्दीको बेलामा कालोबजारीमा तेल बिक्री गरेको भन्दै पक्राउ परेका रविन शर्मालार्इ पनि खरीदमा ल्याइयो।
जग्गा खरीद प्रकरणमा संचारमाध्यममा समाचार आउन थालेपछि भने उनी केही कमजोर भए। उनले संसदीय समितिलार्इ समेत आफ्नो 'ग्रिप'मा राखेका थिए। उद्योग तथा उपभोक्ता समितिका सभापति सहित १० जना सांसदलार्इ उनले निगमको खर्चमा चीन भ्रमण गराए। संसदीय समितिमा उनी विरुद्ध कुनै विषय उठ्नासाथ ती सदस्यलार्इ आफैँ 'डिल' गर्थे।
तर, जग्गा खरीद प्रकरणको रापमा भने उनी बच्न सकेनन्। जग्गा खरीदबारे अनुसन्धानका लागि टोली बन्यो। त्यो टोलीले विभिन्न स्थानको जग्गा खरीदको अनुसन्धान गर्यो। अनुसन्धान प्रतिवेदन तयार पार्दासमेत खड्काले भष्टाचार नभएको ठहर गर्न दबाब दिइरहे। उनले सबै समितिमा आफ्नो अनुकूल निर्णय गराउनसक्ने सांसदको डफ्फा नै तयार पारेका थिए। केही समयअघि एमाले सांसदले संसदमा संकल्प प्रस्ताव पेश गर्ने तयारी गरेको सूचना चुहियो। उनको प्रतिरक्षमा एमाले अध्यक्ष केपी ओली नै जुटे र त्यसलाई निस्तेज पारिदिए।
खड्काले जग्गा प्रकरणमा पनि उन्मुक्तिको बाटो पाउने अवस्थामा थियो। यो प्रकरणबीच पनि उनले निगमभित्रको अनियमितता जारी राखे। यही बेला निगमले तीनवटा बोटलिङ प्लान्टलार्इ लाइसेन्स दियो।
लाइसेन्सपछि भने उनलार्इ जोगाउने समूहले साथ छोड्दै गए। भष्टाचारमा समेत 'इथिक्स' नराखेको भन्दै उनका सहयोगीहरु मरेको जीउबाट उपियाँले छाडे झै बाहिर उम्किन थाले। प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलार्इ म्यानेज गर्ने समूहले उपियाँले झै साथ छाडेपछि सोमबार साँझ उनलार्इ कारवाही गर्ने सिफारिस मन्त्रिपरिषद्मा पठाउने निर्णय भयो।
खड्का गणतन्त्रकालका यस्ता पात्र हुन जसले सबै राजनीतिक दललार्इ मिलाएर भष्टाचारको अनुपम उपहार दियो। त्यो उपहारले गणतन्त्रको मात्रै उपहास गरेन राजनीतिक दललार्इ भष्टाचारको दलदलमा नराम्ररी फसायो। गणतन्त्रका हिमायतीहरु पनि खड्काको पासोमा परिरहे।