PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध, सांसदले उठाएका विषयमा सरकारले वेवास्ता गरेको भन्दै आपत्ति



पी बी खड्का

कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध, सांसदले उठाएका विषयमा सरकारले वेवास्ता गरेको भन्दै आपत्ति

सुर्खेत: कर्णाली प्रदेश सभामा पहिलो पटक प्रतिपक्ष दलका सांसदहरुले संसद अवरुद्ध गरेका छन्। प्रदेश सभाको दोस्रो अधिवेशनको ९ औं बैठकको कारवाही प्रारम्भ गर्दै सभामुख राजबहादुर शाहीले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विशेष समय उपलब्ध गराएका थिए।

सोही क्रममा नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले शुरुमै विशेष समयमा बोल्ने पालो पाए। 

सांसद शाहीले कालिकोटमा भएको वडा सदस्य घटना कसले, किन, कसरी गरेको भन्दै यसको सत्यतथ्य छानविन गरी कारवाही गर्नुपर्ने माग गरे। 
त्यस्तै, अर्काे विषयमा बोल्दै सांसद शाहीले भर्खरै भएको राष्ट्रपति रनिङ शिल्डमा कर्णाली प्रदेशका खेलाडीले काठमाडौंमा जर्सी नपाउँदाको खबरले प्रदेशको बेइज्जत भएको दावी गरे। खेलाडीले जर्सी नपाएकै कारणले खेलमा एक आधा घण्टा पछि गएको कुरा सुनेको भन्दै ‘साच्चै सरकारले जर्सी किन्न नसकेको हो?’ संसदमा प्रश्न गरे। प्रदेश सरकारले बेईज्जत गरेको भन्दै उनले भने, ‘जिम्मेवारी कस्को थियो यसको खोजी गरिनुपर्छ जर्सी नपाएकै भन्दै एक घण्टा खेल ढिला शुरु भएको कुरा सुनियो।’

त्यस्तै, संसद बैठक जाने बाटो पक्की बनाउन ध्यान नदिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरे। ‘५५ लाखको ठेक्कामा संसद बैठक जाने बाटोमा ग्राभेल गरियो कालोपत्रे हैन? शाहीले प्रश्न गरे,–‘संसदमै पटक पटक प्रदेशको राजधानी भित्रका सडक, नाली लगायत भौतिक पूर्वाधार निर्माण गर्न माग गरेको थियो, तर अवस्था उस्तै रह्यो किन ? सभामुख महोदय।’

प्रदेशको राजधानीका विभिन्न क्षेत्र भित्रका सडक, नाली र कल्भर्ड निर्माणका लागि ६५ करोड माग गर्दा पनि प्रदेश सरकारले बजेट नदिनको जवाफ समेत सांसद शाहीले मागे। यसरी सांसदले उठाएका विषयमा सरकारको चरम वेवास्ता भएको भन्दै यस प्रति आपत्ति जनाए। 

त्यस्तै, मन्त्रीहरुले आफ्नो गृह–जिल्लामा रातो किताव नआउदै पहिलेनै बजेट खर्च गरेको आरोप उनको थियो। रातो किताब नआउँदै गरेको बजेटको हिसाव किताव चुस्त दुरुष्त आउनु पर्ने माग अघि सारे। प्रतिपक्ष कांग्रेसका सांसद शाहीले यी विषयको जवाफ माग्दै प्रतिपक्ष कांग्रेसका सांसदहरु उठेर संसद चल्न दिएनन्। 

सभामुख शाहीले पटक पटक बस्न आग्रह गरे पनि बस्न नमाने पछि आधा घण्टाका लागि स्थगित गरियो। तर, पछि पनि सहमति हुन नसकेपछि शुक्रवार दिउँसो ३ बजे सम्मका लागि संसद स्थगन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell