PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

राष्ट्रिय महिला क्लब लिग भलिबल : न्यू डायमण्ड र आर्मी सेमिफाइनलमा



पहिलोपोस्ट

काठमाडौं : चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा बिहीवार दोहोरो जित निकाल्दै शिवम् न्यू डायमण्डले सेमिफाईनलमा स्थान पक्का गरेको छ।

त्रिपुरेश्वरस्थित खेप कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमण्डले पद्मोदय युवा क्लबलाई २५–९,२५–७, २५–१९ को सोझो सेटमा हरायो। डायमण्डले दोश्रो खेलमा चिरपरिचित प्रतिद्धन्दी एपीएफलाई २५–१६,२५–२०,१७–२५, २५–१६ को सेटमा स्तब्ध बनायो।

एपीएफ र डायमण्डले लिग चरणमा ५ खेलबाट समान १२ अंक जोडेका छन्। दुवैले १३ सेटमा जित निकाल्दा ४ सेट गुमाएपछि अंक प्रतिसतका आधारमा एपीएफले १.४१७ हासिल गरेर पहिलो स्थान हात पार्दा १.३७२ अंकसहित न्यू डायमण्ड दोस्रो भयव।

त्यस्तै विभागीय भिडन्तमा नेपाल पुलिसलाई ३-२ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले  चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो।

पुलिसमाथी ३–२ को रोमान्चक जित निकाल्ने क्रममा आर्मीले १५–२५, २५–२०, २५–१०, २२–२५, १५–१२ को सेटमा हरायो।

हारपछि पनि १ अंक जोडेको पुलिसले ५ खेलबाट १० अंक जोड्दै तेस्रो स्थान हासिल गर्‍यो। यस्तै ५ मध्ये ३ खेल जितेको आर्मी ८ अंक जोड्दै चौथो भयो।

अब सेमिफाईनलमा पहिलो स्थानको एपीएफले चौथो स्थानको आर्मीसँग तथा दोश्रो स्थानको डायमण्डले तेश्रो स्थानको पुलिससँग खेल्नेछ। सेमिफाइनल खेल शुक्रवार हुनेछ भने फाइनल शनिवार हुनेछ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell