
काठमाडौं : उत्तर कोरियाका नेता किम जोङ उन विश्वको ठूलो अर्थतन्त्रबाट राहतको खोजी गर्दै जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बस्दै छन्।
उत्तर कोरियामाथि बाँकी विश्वले लगाएको आर्थिक नाकाबन्दी खुकुलो पार्ने लक्ष्यका साथ किम सिंगापुर पुग्दै छन्। आणविक हतियार तथा मिसाइलको परीक्षणबाट कुटनीतिक टेबलमा पुग्ने किमको यो ‘ब्रेक थ्रु’लाई अन्तर्राष्ट्रिय समूदायलेसमेत प्रशंसा गरेको सीएनबीसीमा निस्का चन्द्रानले ‘उत्तर कोरियाको आकास्मिक परिवर्तनः मिसाइल परीक्षणदेखि शान्ति वार्तासम्म’ प्रकाशित रिपोर्टमा उल्लेख छ।
गत वर्ष लगातार रुपमा मिसाइल परीक्षण गरी अमेरिकासहित विश्वलाई चुनौती दिएको उत्तर कोरियाले विन्टर ओलम्पिकसँगै बाँकी विश्वसँग कुटनीतिक संवादलाई अगाडि बढाएको छ।
शान्ति तर्फको प्रयास उत्तर कोरियाको आत्मरक्षको प्रयासको रुपमा समेत विश्लेषण गरिएको छ। सन् २०११ मा उत्तर कोरियाको सत्तामा पुगेका किमले त्यसयता आणविक परीक्षणलाई तिब्रता पारेका थिए।
सन् २००३ देखि २००९ सम्म उनका पिता किम जोङ इलले विश्वसँग शान्ति वार्ताको प्रयास गरेका थिए। तर यो असफल भएको थियो। सन् १९९४ मा पनि अमेरिकी राष्ट्रपति बिल क्लिन्टन प्रशासनले प्योङ्याङलाई सुरक्षाको ग्यारेन्टी दिँदै आणविक निशस्त्रीकरणको प्रस्ताव राखेको थियो।
क्लिन्टन प्रशासनले त्यतिवेला प्योङयाङलाई पेट्रोलियम पदार्थ, पानी जहाज, लाइटवाटर रेक्टरको निर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो। तर ती वाचा आंशिक रुपमा मात्र पूरा भएको अष्ट्रेलियन नेशनल युनिभर्सिटीका कोरिया अध्ययन अनुसन्धानकर्ता लियोनी पेट्रोभ बताउँछन्।
‘त्यसैको प्रयास स्वरुप उत्तर कोरियाले आंशिक रुपमा आणविक तथा मिसाइल कार्यक्रमलाई रोकेको थियो। पछि जर्ज डब्लु बुस प्रशासनले ती वाचा पूरा नगर्ने देखेपछि पुन कार्यक्रम सुरु गरियो,’ उनले भने।
प्योङयाङ के चाहन्छ?
शान्ति वार्ताको टेबलमा आएको प्योङयाङ आर्थिक सहायाता भन्दा पनि बाँकी विश्वसँग ठूलो अपेक्षा गरिरहेको छ। कोरिया इकोनोमिक इन्स्टीच्यूट अफ अमेरिकाका शैक्षिक मामिला तथा अनुसन्धान निर्देशक केल फेरियर, दक्षिण कोरियाबाट अमेरिकी सेनाको फिर्ताको अपेक्षा प्योङयाङले गरिरहेको छ। जुन उत्तर कोरियाको शान्तिका लागि आवश्यकता पनि हो। तर यस विषयमा जुन १२ मा सिंगापुरमा हुने वार्तामा कुरा नउठ्ने अमेरिकी रक्षा सचिव जेम्स माटिसले स्पष्ट पारिसकेका छन्।‘किम जोङ उन आफ्नो केक प्राप्त गर्न र खान चाहिरहेका छन्। त्यो सम्भव पनि छ। उनले भनिरहेका छन्, उनी आणविक कार्यक्रमको विषयमा कुरा गर्न चाहिरहेका छन्। उनी असल विश्वासका साथ संवादमा प्रस्तुत भइरहेको जस्ता किम देखिन्छन्। यसलाई बुझ्दा उनले पूरा हुन नसक्ने सहयोगको माग गर्न सक्छन्,’ फेरियरले भने।
दक्षिण कोरियालीमाथि किम प्रतिको विश्वास बढ्दो
उत्तर कोरियाली नेता किम जोङ उनप्रति दक्षिण कोरियाली जनताहरुको विश्वास बढ्दै गएको छ। गत अप्रिलदेखि उनीमाथिको विश्वास बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
‘उन मुस्कुराउँदा मनमोहक देखिन्छन्,’ किमको मुस्कानले सजिएको पेय पदार्थ पाउने क्याफेका सञ्चालकले भने। करिब ८० प्रतिशत दक्षिण कोरियालीहरु किम प्रति विस्वास गर्न थालेको सवेक्षणले देखाएको इन्क्यूस्टरले जनाएको छ।
‘उनको प्रसिद्धि चुलिँदै गएको छ। पराई र चुनौतीदेखि उनको पहिचान मित्रको रुपमा अगाडि बढेको छ र उनी जनताका नजरमा प्यारा छन्’ रिपोर्टमा भनिएको छ।
हाल दक्षिण कोरियामा उत्तर कोरियाली नेता किमको मुस्कान समेत विक्री हुन थालेको छ। किमको बढ्दो प्रसिद्धीलाई लिएर व्यापारिहरुले फाइदा लिइरहेका छन्। उनको समर्थन र प्रशंसा गर्न दक्षिण कोरियालीहरु लाज मान्दैनन्।
डेढ महिना अगाडि मात्र १० प्रतिशत मात्र दक्षिण कोरियाली जनताले उत्तर कोरियाली नेताको प्रशंसा गर्थे। डेढ महिनाको अन्तरालमा दक्षिण कोरियामा उनको प्रसिद्ध यति माथि चुलिएको हो।
कुटनीतिमा किमले हासिल गरेको तीब्र परिवर्तन
न्यूयोर्क टाइम्सले किमले पछिल्ला महिनामा आधुनिक कुटनीतिको क्षेत्रमा तीब्र परिवर्तन हासिल गरेको उल्लेख गरेको छ।उनले आफ्नै काकालाई मृत्युदण्ड दिए। सौतेली दाजु मारिए। जनता भोका भएपनि उनले करोडौँ रकम हाइड्रोजन बम, अन्तर्राष्ट्रिय ब्लास्टिक मिसाइल निर्माण तथा परीक्षमा खर्चिए। उनले अमेरिकी राष्ट्रपतिलाई मानसिक रुपमा असन्तुलित भएको भन्दै आणविक आक्रमणको समेत चेतावनी दिए।
'उनको यो छवि गत वर्षको थियो। पछिल्ला महिनाहरुमा उत्तर कोरियाली नेता किमले आधुनिक कुटनीति क्षेत्रमा तीब्र परिवर्तन हासिल गरेका छन्,' न्यूयोर्क टाइम्समा दक्षिण कोरियाली राजधानी सोलबाट चोइ सङ हुनले समाचार लेखेका छन्, 'हिंस्रक शासक, आणविक पागलको रुपमा चित्रित हुने व्यक्तिले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग हात मिलाए, हृदयदेखि नै वार्ता गरे जसले किमको बदलावलाई उत्साही बनायो।'
यसबीच सत्तामा आएको ७ वर्षपछि किम पहिलो पटक यसै वर्ष विदेशमा निस्किए। उनी पहिलोपटक चीनको भ्रमणमा पुगे। महिनाको अन्तरालमा उनी दुईपटक चीन पुगेर राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गरे।
यसबीच उत्तरले कुटनीतिक सक्रियता समेत बढाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारसमेत उत्तर कोरिया पुगेर फर्किएका छन्। त्यस्तै उत्तरबाट समेत ह्वाइट हाउसका पाहुना बनेर त्यहाँ उच्च अधिकारीहरु समेत पुगिसकेका छन्।
किमलाई अमेरिका भ्रमणको निम्तो दिन सक्छन् ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिन सक्ने बताइएको छ। ट्रम्पले सिंगापुरमा हुने वार्ता सफल भएमा किमलाई अमेरिका भ्रमणको निम्तो दिने बताएको डेली मेलले जनाएको छ।एउटा रिपोर्टमा ट्रम्प र किम सिंगापुरमा गल्फ खेल्न सक्ने उल्लेख गरेको छ। यद्यपि यसलाई उनले अस्वीकार गरेका छन्। 'नाइ मलाई मन छ। तर नाइ,' उनले पत्रकारहरुसँग भने। ट्रम्पको ओभल अफिसलेसमेत गल्फ कुनै पनि एजेन्डामा नरहेको स्पष्ट पारेको छ। 'उहाँ सिंगापुरमा खेल्न त चाहनुहुन्छ तर यसपटक यो सम्भव छैन।'
ट्रम्पले वार्ता सफल हुने विश्वास व्यक्त गर्दै दोस्रो वार्ता ह्वाइट हाउसमा हुने समेत जानकारी गराएका छन्।
'वार्ता सफल हुने छ। कोरियाली प्रायद्वीपमा भइरहेको युद्धको अन्त्यको घोषणापत्रमा हस्ताक्षर हुनेछ। यो सहजै हुने छ। त्यसपछिका छलफल अलि अफ्ठ्यार हुने छन्,' ट्रम्पले भने।
वार्ता सफल नभए नी भन्ने पत्रकारको प्रश्नमा उनले वार्ता छाड्ने सहज जवाफ दिए। 'यस्तो अवस्था आउने छैन्,' उनले भने।
किमसँग भेट गर्न विश्वका नेताहरु लालायित
यसैबीच विश्वको ध्यान यतिवेला प्योङयाङले खिचिरहेको छ। विश्वका नेताहरु किमसँग भेट गर्न विश्वका नेताहरु लालायित देखिएका छन्।
सिरियाली राष्ट्रपति बसर अल असाद त उत्तर कोरियाको राजधानी प्योङयाङ जान इच्छुक रहेको बताएका छन्।
साता अगाडि मात्र त्यहाँको सरकारी समाचार एजेन्सीले असाद प्योङयाङ आउन चाहेको जनाएको छ। सन् २०११ मा उत्तर कोरियाको नेतृत्वमा आएका उनले गत अप्रिल र मे महिनामा चिनियाँ राष्ट्रपतिसँग भेट गरेका थिए। उनको त्यो विदेशी राष्ट्र प्रमुखसँग भएको पहिलो भेट थियो। त्यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीसमेत प्योङयाङ पुगेर फर्किएका छन्।
त्यस्तै उनले दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि दुईपटक भेट गरिसके। अब उनले प्योङयाङमै विदेशी राष्ट्र प्रमुखलाई स्वागत गर्ने तयारी गर्दै छन्। यदी सिरियाली राष्ट्रपति असाद प्योङयाङ पुगे भने उनी किमका पहिलो विदेश राष्ट्रप्रमुख पाहुना हुने छन्।
असादलाई उदृत गर्दै समाचारमा किमलाई भेट गर्नका लागि लालाहित भएको उल्लेख छ।
त्यस्तै साता अगाडि मात्रै रुसका परराष्ट्रमन्त्री सेरजेइ लाभरोभले उत्तर कोरियाको भ्रमण गरी किमसँग भेटवार्ता गरेका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत किमसँग भेटवार्ता गर्न चाहेका छन्। पुटिनले किमलाई भेटवार्ताका लागि निम्तो समेत दिएका छन्। उनीहरुको भेटवार्ता भ्लादिभोस्टोकमा हुने इस्टर्न इकोनोमिक फोरमका समयमा सेप्टेम्बरमा अपेक्षा गरिएको छ।
यता भारतीय विदेश राज्यमन्त्री भिके सिंहसमेत प्योङयाङ पुगेर फर्किएका छन्। उत्तर कोरियाली परराष्ट्र मन्त्रीले विभिन्न देशका आफ्ना समकक्षीहरुलाई प्योङयाङ भ्रमणको निम्तो दिँदै कुटनीतिक सक्रियता तिब्र पारेको छ।