
काठमाडौं : प्रदेश ३ ले दशौँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। ६ खेल समावेश प्रतियोगितामा प्रदेश ३ सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा प्रदेश ५ ले ११ स्वर्णसाथ दोस्रो स्थान हात पार्दा र ६ स्वर्ण जितेको प्रदेश ६ तेश्रो भयो।
एथलेटिक्सको छात्र र छात्रा दुवैमा प्रदेश ५, करातेको छात्रमा प्रदेश ४ र छात्रामा प्रदेश ३, तेक्वान्दोको छात्रमा प्रदेश ५ र छात्रामा प्रदेश ३, उसुको छात्र र छात्रा दुवैमा प्रदेश ३, भलिबलको छात्रमा प्रदेश ३ र छात्रामा प्रदेश ५ तथा कबड्डीको छात्रमा प्रदेश ३ र छात्रामा प्रदेश ७ टिम च्याम्पियन बने।
तीनदिने प्रतियोगिताको एथलेटिक्समा ४ खेलाडीले ६ वटा जुनियर राष्ट्रिय कीर्तिमान बनाए। अजितकुमार यादव र राममाया बुढाले १५ सय र ३ हजार मिटर दौड, अरुणा रिजालले ४ सय मिटर दौड तथा प्रभु थारुले हाइजम्पमा कीर्तिमान रचे। सबैले एक कीर्तिमानका लागि १० हजारका दरले नगद पुरस्कार पाए।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यद्वय शम्भु आचार्य र एकेन्द्र कुँवरलगायतले पुरस्कृत गरे।