
काठमाडौँ: ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार रहेका मोहन अग्रवाल 'एमके'को काठमाडौँस्थित घरमा शुक्रबार ८ घण्टा लगाएर प्रहरीले सर्च अप्रेसन गरेको छ।
बिहान करिब ११ बजे अग्रवालको घर पुगेको सर्च टोली राति ८ बजे मात्र बाहिरिएको थियो। काठमाडौँका वडा नम्बर २९ निर्वाचित वडा सदस्य र छिमेकीको रोहवरमा सर्च गरिएको थियो।
साढे २ तला रहेको अग्रवालको घरपुग्दा सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीका सदस्य नै चकित परेका थिए। समितिका एक सदस्यले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'घर भिआइपी बस्ने जस्तै रहेछ। महँगो टायलले सजाइएको थियो।'
तीन महिनादेखि बन्द घर धुलोले छोपिएको थियो।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा शुक्रवार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिलभर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको हो।
छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, ४ लो चाँदी र १६ तोला सुन, सुन बोक्ने कालो रंगको ज्याकेट, सुन बोक्ने बट्टा, चेक बुक लगायत सामान बरामद भएको छ।
छापा मार्ने क्रममा केही प्रमाण फेला परेका छन् जसले अनुसन्धानलाई सहयोग गर्छ, विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले पहिलोपोस्टलाई बताए।
उनकी श्रीमतीले घरमा भएका अरू सुन र नगद लिएर भागेको अनुमान गरेको छ। प्रहरीले अग्रवालले प्रयोग गर्ने बा१० च २८२ नम्बरको कार समेत बरामद गरेको छ। त्यस्तै अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोबार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद भएको छ।
टोलीले अग्रवालको खोजी गरिरहेको छ। उनको घरबाट प्रहरीले केही महत्त्वपूर्ण कागजपत्र समेत फेला पारेको छ। अग्रवालको कोठाबाट प्रहरीले विभिन्न ब्रान्डका ११ वटा महँगा कारको साँचो समेत फेला पारेको संयोजक पौडेलले बताए।
पुर्पक्षको लागि थुनामा रहेका मध्ये अधिकांशले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिएका थिए। अग्रवाल दिल्लीमा रहेको अनुमान गरिएको छ। उनका एक छोरा र छोरी दिल्लीमा नै पढ्दै छन्।