चितवन : नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ।
राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो।
मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ। सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको पारिपट्टि २८ किलोमिटर सडक बनाइने छ। मुग्लिनदेखि नौबिसेसम्मको दूरी ९६ किलोमिटर छ। अग्ला र कडा चट्टान भएको क्षेत्रमा पारिपट्टिबाट सडक निर्माण गर्न लागिएको हो। तीन ठाउँबाट नदी पार गरी सडकमा जोडिने छ।
श्रेष्ठका अनुसार सो सडकको विस्तृत अध्ययन भई अर्थमन्त्रालयमार्फत् बजेटका लागि विश्व बैंकमा पठाइएको छ। अध्ययन पनि विश्व बैंकका प्राविधिक समूहले गरेको हो।
यो सडक निर्माणका लागि विश्व बैंक सकारात्मक रहेकाले छ/सात महिनाभित्रमा सडक निर्माणका लागि बजेटको टुंगो लाग्ने अनुमान छ। उक्त सडक निर्माणका लागि झण्डै रु २३ अर्ब खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए।
काम शुरु भएको तीन वर्ष छ महिनाभित्र सक्ने गरी काम गर्ने तयारी गरिएको छ। वारीपट्टिको सडकले चितवन र धादिङ हुँदै काठमाडौँ जोड्द छ भने पारिपट्टि गोर्खा, धादिङ हुँदै काठमाडौँ जोडिन्छ ।
वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सिस्ने खोलाबाट टुटीपाखासम्मको भागमा २ दशमलव ७ किलोमिटर लामो सुरुङ मार्ग बनाइने छ। अहिले गरिएको अध्ययनअनुसार सडक सम्पन्न हुँदा आठ किलोमिटर छोटो हुने र २० मिनेट समय कम लाग्ने उनले बताए। हाल सो सडकमा एउटा गाडी बिग्रँदा सडक अवरुद्ध हुने गरेको छ।
सडकको स्तरोन्नति भएसँगै एउटा गाडी बाटोमा बिग्रँदासमेत दोहोरो आवतजावत गर्न सक्नेछन्। हाल सो सडक सात मिटर फराकिलो छ। गाडी बिग्रँदा पनि दोहोरो सवारी गुड्न नौ मिटर फराकिलो सडक चाहिन्छ।
नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। यो सडक स्तरोन्नति भएसँगै सवारी चाप मुग्लिन–नौबिसे सडकमा बढी पर्ने छ । सो सडक पनि स्तरोन्नति गर्दा राजधानी काठमाडौँ जाने आउने सवारीलाई सहज हुनेछ।