
नेपालगञ्ज : काठमाडौँको संकटा क्लबलाई १-० ले पराजित गर्दै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि जितेको छ।
गत वर्ष पनि रुपन्देहीले संकटालाई नै पारजित गर्दै दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।
बाँके जिल्लाको खजुरामा आज भएको फाइनल प्रतिष्पर्धाको दोस्रो हाफमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक सावित भयो ।
उपाधि विजेता लाली रुपन्देहीले कपसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता संकटाले २ लाख ५१ हजारमै चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका रुपन्देहीका कप्तान दीपक गुरुङले सुजुकी मोटरसाइकल पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका विजयी खेलाडी र टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पदक, कप र नगद पुरस्कार प्रदान गरे।