PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

नुवाकोट गोल्डकप : थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो उपाधि



पहिलोपोस्ट

नुवाकोट गोल्डकप : थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो उपाधि

नुवाकोट : विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बट्टारस्थित खेल मैदानमा शनिवार भएको फाइनल खेलमा रुस्लान थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि पुलिसले जितेको हो।

नेपाल पुलिसलाई विजयी गराउन खेलको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो। खेलको पहिलो हाफको ३३औँ मिनेटमा नेपाल पुलिसले पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्न असफल हुँदा पुलिसले पहिलो हाफमै अग्रता लिने मौका गुमाएको थियो। तर पुलिस दोस्रो हाफमा उत्कृष्ट प्रतिस्पर्धासहित लयमा फर्किएको हो।

पुलिसले जितेको यस सिजन यो दोस्रो प्रतियोगिता हो। उसखघि उसले दमक गोल्डकपको उपाधि जितेको थियो।

यस वर्ष ४ प्रतियोगिता खेलिसकेकव थ्री स्टारले ३ वटा फाइनल खेल्दा २ गोल्डकपको उपाधि जितेको थियो। थ्री स्टारले माई भ्याली गोल्डकप र उदयपुर गोल्डकपको उपाधि जितिसकेको छ।

प्रतियोगिताको बिजेता नेपाल पुलिसले ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्री स्टारले ३ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

उत्कृष्ट भएको टोलीलाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नुवाकोटमा व्यवस्थित खेल मैदानसहितको राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेल क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

मन्त्री विश्वकर्माले केही सुस्त अवस्थामा रहेको नेपालको फुटबल क्षेत्रलाई आगामी वर्षदेखि निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाए।

आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानले पहिलो नुवाकोट गोल्डकपको सफलताले हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका १० वटा क्लबले सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell