PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बालुवा निकालिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु



पहिलोपोस्ट

बालुवा निकालिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु

बर्दिवासः महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ। पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ।

बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुषमा पानीले भरिएको खाल्डोमा पौडी खेल्न पस्दा डुबेकी हुन्। उनी डुब्नासाथ वरपर हल्लिखल्ली भएपछि परिवारजनले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले बताए।

सुषमा बर्दिवास–१० स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। शव परीक्षणका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

यसअघि गत वर्ष जेठमै बर्दिवास–१३ बिजलपुरामा र २०७३ सालको असारमा बर्दिवास–९ पशुपतिनगरमा यस्तै खाल्डामा डुबेर दुई जनाको मृत्यु भएको थियो। बर्षेनि खाल्डामा डुबेर मानवीय क्षति हुँदै आएपछि यस भेगका सर्वसाधारणले बालुवाढुङ्गा उत्खनन गर्ने काम ठाउँ छनोट गरेर मात्र गर्न र ठूलठूला खाल्डा बनेका ठाउँ पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell